पूर्व सचिव रामेश्वर खनाल अर्थमन्त्री नियुक्त हुँदै

काठमाडौँ । पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्। कांग्रेस र एमालेको दुई तिहाइ बहुमतको सरकार जेनजी आन्दोलनपछि ढलेको परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारमा खनाल अर्थमन्त्री बन्ने निश्चित भएको हो।
प्रधानमन्त्री कार्कीले मन्त्री चयनको क्रममा खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्। निर्वाचन अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय मन्त्री बनाउने क्रममा रहेकी प्रम कार्कीले पूर्व अर्थ सचिव खनाललाई अर्थ मन्त्री बनाउन लागेकी हुन् ।
पूर्व सचिव खनालले तत्कालीन अर्थमन्त्री भरत मोहन अधिकारीसँग विचार नमिलेपछि अर्थसचिव पदबाट राजीनामा दिएका थिए। खनालको नियुक्तिसँगै अर्थ मन्त्रालयमा अनुभव र प्रशासनिक ज्ञानलाई बल दिँदै नयाँ सरकारले आगामी आर्थिक कार्यनीतिहरू अघि बढाउने अपेक्षा गरिएको छ।