आजदेखि सहुलियत पसल सञ्चालन हुँदै, कुन सामान किन्दा कति पाइन्छ छुट ?

काठमाडौँ । सोमबार (आज)देखि दशैं लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनपछि पूर्वघोषित मितिमै सहुलियत पसल सञ्चालनमा आउँछ कि आउँदैन भन्ने संशयका बीच सरकारले भोलिदेखि सहुलितय मूल्य पसल सुरू गर्न लागेको हो ।
चाडपर्वको समयमा सर्वसाधारणलाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो ।
मुलुकभर नै सहुलियत पसल सञ्चालन गर्ने निर्णय भएअनुसार मुलुक सामान्य अवस्थामा आएपछि पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ८ गते यो वर्षको चाडपर्वलाई लक्षित गरेर भदौ ३० गते सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन आवश्यक तयारी गर्न निर्देशन दिएको थियो ।
तर, यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा विभिन्न ठाउँका गोदाममा र दैनिक उपभोग्य वस्तुको ढुवानीमा गम्भीर असर पर्न पुग्यो । आन्दोलनका कारण उत्पन्न असहज परिस्थितीले यातायातका साधनहरु केही दिन चल्न नसकेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित बनेको थियो ।
सहुलियत मूल्य पसल सञ्चालन गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ र खाद्य व्यावस्थाका विभिन्न गोदामहरुमा आगजनी तोडफोड र लुटपाट भएको थियो । देशभर त्रासको वातावरण सिर्जना भएपछिको अवस्थामा लुटपाटका घटना बढ्नु, वस्तुको आपूर्ति तथा बिक्री वितरण प्रणाली प्रभावित हुनु लगायत कारणले उपभोक्ता वस्तु नपाइने चिन्तामा परेका थिए । यस्तो अवस्थामा सरकारले सञ्चालन गर्ने भनेको सहुलियत मूल्य पसल सञ्चालन हुन्छ कि हुँदैन भन्ने दुविधा बढ्दै गएको थियो ।
हिंसात्मक आन्दोलन यताका ४ दिनमा उपभोक्ताहरुले दैनिक उपभोग्य वस्तु र खाना पकाउने ग्याँस सहज रुपमा पाउन सकेनन् ।
बजारमा दैनिक उपभोग्य वस्तु र ग्याँस सहज रुपमा पाउन नसकेको गुनासो गर्ने उपभोक्ताहरुले कालोबजारी बढेकोतर्फ ध्यानाकर्षण गराएका थिए । तर अन्तरिम सरकार गठन भइसकेपछि सडकमा उत्रिएको सेना ब्यारेकमा फर्किएको छ । दैनिक जनजिवन पनि सामान्य बन्दै गएको छ । यातायातहरु पनि सञ्चालनमा आउन थालेपछि सहुलियत मूल्य पसल पनि सञ्चालन हुने भएका हुन् ।
कुन सामान किन्दा कति छुट ?
खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।
त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ । कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भनिएको थियो । तर पछिल्लो समयको विकराल अवस्थाका कारण सम्पूर्ण स्थानमा नभए तापनि सहज हुने स्थानमा सञ्चालन गर्ने मित्रको भनाइ छ ।
उनका अनुसार काठमाडौंको रामशाह पथमा रहेको बिक्री केन्द्रमा आगजनी भएको छ भने सिराहाको लहानमा रहेको गोदाममा लुटपाट र तोडफोड भएको छ ।
यसका साथै काठमाडौंमा खसी/बोका र च्याङ्ग्रा लागि अनलाइनमार्फत् बुकिङ पनि शुरू गरेको थियो । अनलाइनमार्फत् बुकिङ गराएर मात्रै ल्याउने कुरा मुस्किल भएपनि विस्तारै समस्या समाधान हुँदै जाँदा सहज भइरहेकाे उनले बताए ।
यता, आन्दोलनले साल्ट ट्रेडिङमा कुनै पनि क्षति नपुर्याएको र मन्त्रालयको निर्णय अनुसार सर्वसाधारणका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङका सूचना अधिकारी कुमारराज भण्डारीले बताए ।
साल्ट ट्रेडिङसँग पर्याप्त खाद्यान्न मौज्दात रहेको र चाडपर्वमा अभाव हुन नदिने र देशभर विभिन्न स्थानहरूमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिसकेको र भोलिदेखि सञ्चालन गर्ने भण्डारीको भनाइ छ ।