नयाँ सरकार बनाउन जंगीअड्डामा आज निर्णायक वार्ता हुँदै

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनसँगै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि नेपाली सेनाले छलफल अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार बुधबार दिनभर विभिन्न पक्षसँग संवाद गरेका प्रधानसेनापति अशोकराज सिग्देलले थप छलफलका लागि आज (बिहीबार) विभिन्न पक्षलाई बोलाएका छन् ।
बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन । जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै ग्रुप लिडरको नाम लिएर आउन आग्रह गरेको थियो ।
प्रधानसेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्सका सदस्यसँग संवाद गरेका थिए । सिग्देलले आज देशले निकास पाउने गरी जेनजी अभियन्तासँग छलफल गर्ने नेपाली सेनाले जनाएको छ । सेनाको समन्वयमा राष्ट्रपति पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने छ ।
पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति सिग्देलले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।
हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।