सर्वमान्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार, ६ महिनाभित्र निर्वाचन गराऔँ: जेनजी

काठमाडौँ । आन्दोलनकर्ता जेनजी युवा विद्यार्थीले निष्पक्ष, निर्विवादित र सर्वमान्य व्यक्तिको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गर्नुपर्ने बताएका छन् ।
जेनजी युवा विद्यार्थीले अपिल जारी गर्दै राज्यको निकायमा भएका वा कुनै पनि तहको जनप्रतिनिधिलाई अन्तरिम नागरिक सरकारमा सहभागी गराउन नपाइने बताएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थासहित निर्वाचन ६ महिनाभित्र गराउनुपर्ने बताएका छन् । जसमा विज्ञसहितको मन्त्रिमण्डल, कानुन निर्माणका लागि जननिर्वाचित प्रतिनिधिसभा हुनुपर्ने अपिलमा उल्लेख गरेका छन् ।
“अहिले संसद्मा भएका पार्टीहरू पनि सहभागी बन्न पाउने छैनन् । सहमतिबाट जेनजी समूहका प्रतिनिधि पनि सहभागी बनाउनुपर्नेछ,” अपिलमा उल्लेख छ ।
जेनजीको आन्दोलनमा प्रतिगामी शक्ति, संसदीय दल र सरकारमै भएका दलका कार्यकर्ता, लोकप्रियतावादीहरू र नेपाललाई पराधीन बनाइराख्न खोज्ने शक्तिले नेपाली युवा विद्यार्थी र आमजनताको आक्रोशको भरपुर दुरुपयोग गरेको अपिलमा उल्लेख छ ।
अब देशलाई खरानीकै जगमा उठाउनुपर्ने अपिलमा बताइएको छ । वार्तामा कुनै एउटा समूह वा अमुक व्यक्तिलाई मात्रै नभएर सबै जेन जी समूहरूको सर्वसहमतिमा वार्ताअगाडि बढाउन अपिल गरिएको छ ।
“विसं. २०४६ यता राज्यको सेवासुविधा लिने सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली नागरिक आयोगको गठन गरी अपचलित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ,” अपिलमा उल्लेख छ, “देशलाई आगामी दिशानिर्देश गर्न उच्चस्तरीय र निर्विवादित सर्वपक्षीय व्यक्ति वा समूह र जेनजी समूहको प्रतिनिधिसहित उच्चस्तरीय नागरिक संयन्त्रको निर्माण गर्नुपर्नेछ ।”