सामाजिक सञ्जालका अफवाहमाथि हिमालय एयरलाइन्सको स्पष्टिकरण
काठमाडौँ । हिमालय एयरलाइन्सले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा प्रसारित उडानसम्बन्धी समाचारहरूलाई असत्य र भ्रामक भन्दै खण्डन गरेको छ।
एयरलाइन्सले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दुबई उडान नियमित तालिकाअनुसार नै सञ्चालन भइरहेको स्पष्ट पार्दै, अफवाहमा नपर्न सबैलाई अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान हो। प्रचारमा आएका हल्ला र अफवाहमा कुनै सत्यता छैन।”
कम्पनीले आफूमाथि गरिएको आरोपलाई कपोकल्पित र भ्रामक भनेको छ। साथै, कोभिड–१९ महामारीको समयमा उद्धार उडानमार्फत राष्ट्रिय दायित्व निर्वाह गरेको उदाहरणसमेत प्रस्तुत गरिएको छ।
हिमालय एयरलाइन्सले यात्रुहरूलाई यस्ता अपुष्ट समाचारको भ्रममा नपर्न आग्रह गर्दै, यात्रु सेवामा सदैव जिम्मेवार र बफादार भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।


