सोमबारको घटनाप्रति सीएनआई दुःखी, हिंसाको निन्दा गर्दै संयमता अपनाउन अपिल

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हिजोको प्रदर्शनका क्रममा युवाहरूले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। परिसंघले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै निर्दोषहरूको ज्यान जाने कुनै पनि किसिमको हिंसात्मक कार्यलाई कडा शब्दमा निन्दा गरेको हो।
सीएनआईले विज्ञप्ति जारी गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हिंसाबाट मुलुक र समाजलाई हुने क्षति गम्भीर भएको टिप्पणी गरेको छ। “हाम्रो भविष्य युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर छ। हिंसाको माध्यमबाट ती आवाज दबिनु राष्ट्रकै लागि ठूलो क्षति हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
उद्योग परिसंघले सम्पूर्ण सरोकारवालाहरूलाई संयमता अपनाउन र शान्ति, सुरक्षा तथा रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै, मुलुकको समृद्धिको मार्ग संवाद र समझदारीमार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै विभाजनभन्दा एकता र द्वन्द्वभन्दा सहमतिको आवश्यकता औंल्याएको छ।
परिसंघले लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्दै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहललाई निरन्तर समर्थन गर्दै आएको स्पष्ट गरेको छ। हिंसा रोक्न र शान्तिपूर्ण वातावरण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा परिसंघले जोड दिएको छ।