राष्ट्रिय व्यवसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित, जोशी पुनः अध्यक्ष

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (National Business Initiative – NBI) को १९औं वार्षिक साधारण सभा भदौ १३ गते काठमाडौंमा सम्पन्न भएको छ। सभाले कुशकुमार जोशीलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति निर्विरोध गठन गरेको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्दवीर मालाकार, कोषाध्यक्षमा सरोज प्रसाद पाण्डे, सचिवद्वयमा सुरेश प्रधान र डा. बविन पोखरेल, सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन्। त्यस्तै सदस्यमा शिव प्रसाद घिमिरे, रमेश शर्मा, रविन्द्रमान सिंह प्रधान, लता प्याकुरेल, अरनिको राजभण्डारी, खेम लकाई, सरिता महर्जनसहित संस्थागततर्फ नेपाल हस्तकला महासंघका राजमान बज्राचार्य र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महेश कुमार बस्नेत रहेका छन्। सभाले राजेश बाबु श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ, डा. राजेन्द्र कुमार घिसिङ, होमनाथ उपाध्याय तथा सनम शाक्यलाई कार्यसमिति सदस्यका रूपमा मनोनित गरेको छ।
अध्यक्ष जोशीले सम्पूर्ण निर्वाचित पदाधिकारीलाई बधाई दिँदै कार्यसमितिले व्यवसायिक क्षेत्रका दुरगामी महत्वका निर्णय कार्यान्वयनमा पूर्ण प्रतिवद्ध रहने उल्लेख गरे। उनले अनुभवी व्यक्तित्वको प्रतिनिधित्व भएको नयाँ नेतृत्वले संस्थालाई आगामी दिनमा थप प्रभावकारी बनाउन सक्ने विश्वास व्यक्त गरे।
महासचिव सुरेन्द्रवीर मालाकारले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आचारसंहिता अनुगमन, राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल, युएसएआईडी र युएनडिपीसँग सहकार्यमा व्यवसाय–मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालनजस्ता प्रमुख गतिविधि उल्लेख गरे। सभाले आर्थिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गर्यो।
कार्यक्रममा पूर्वमन्त्री तथा सल्लाहकार उमेश श्रेष्ठले मुलुकको कमजोर आर्थिक अवस्थाबीच निजी क्षेत्रमा आत्मविश्वास बढाउन ठूला परियोजना सञ्चालन गर्नुपर्ने सुझाव दिए। संस्थापक अध्यक्ष पद्म ज्योतिले नेपाल विकासोन्मुख मुलुकको श्रेणीमा स्तरोन्नति हुँदै गर्दा अवसर र चुनौतीको सन्तुलन मिलाउन रणनीतिक सोच आवश्यक रहेको धारणा राखे।
दुई दशकअघि तत्कालीन द्वन्द्वकालमा दिगो शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरिएको NBI ले दिगो विकास, सामाजिक उत्तरदायित्व, स्वच्छ व्यवसाय प्रवर्द्धन, मानव अधिकार र औद्योगिक वातावरण निर्माणमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।