नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय ई–सिम तथा ड्राइभिङ परमिट सेवाको सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापछि अब नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत २०० भन्दा बढी देशका लागि डाटा ई–सिम खरिद गर्नसक्ने भएका छन् । साथै, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि सोही एपमार्फत लिन सकिनेछ ।
सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईं र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडालगायत मुलुकका लागि ग्राहकले आफ्नो मोबाइल एपमार्फत सजिलै अनुकूल डाटा प्याकेज छनोट गरी खरिद गर्न सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन वा भ्रमणमा जाने व्यक्तिहरूलाई विदेश पुगेपछि इन्टरनेट सेवामा समस्या नहोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बाजगाईंले परम्परागत रूपमा विदेशमा सिम खरिद गर्दा केवाइसी फाराम, विदेशी मुद्रा बुझाउनुपर्ने झन्झटलाई हटाउन यो सम्झौता गरिएको बताए । उनले भने, “एनबैंक एपमार्फत ग्राहकले १० मिनेटभित्रै आफ्नो आवश्यक डाटा प्याकेज खरिद गर्न सक्छन्, जुन पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित छ ।”
यस्तै, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि एपमार्फत २४ घण्टाभित्रै डिजिटल वा फिजिकल कार्डका रूपमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने यो अनुमतिपत्र १९० भन्दा बढी मुलुकमा मान्य हुने बैंकले जनाएको छ ।
निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वास व्यक्त गरे ।
निम्बजलाई सुपर एपको रूपमा चिनिन्छ, जसमा च्याट, भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी सेवा, डिजिटल वालेट, गेम तथा अन्य सुविधाहरू उपलब्ध छन् ।