हाइड्रो शेयर काण्डमा पिंकीको स्वीकारोक्ति, प्रहरी–वकिल कार्यालय मौन बसेको आरोप, हुलाक मार्फत उजुरी
काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अहिले अकल्पनीय पीडामा परेका छन्। समाज र परिवारले बहिष्कृत बनाएका यी नागरिक आफ्नै समुदायका नेतृत्वकर्ता भनिएका व्यक्तिबाट समेत ठगिएको तथ्य बाहिर आएको छ।
समुदायका सदस्यहरूले आशा र विश्वासका साथ लगानी गरेको हाइड्रो कम्पनीको शेयर बिक्रीबापत उठाइएको रकम गायब भएको हो। धेरै समयसम्म यथार्थ पत्ता नलागे पनि पछि मात्रै पीडितहरूलाई आफूहरू ठगिएको स्पष्ट भएको हो। ठगिएका उनीहरू न्यायका लागि बाध्य भएर सुरक्षा निकायमा गुहार माग्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगे।
पीडितहरूले प्रहरीमा ठाडो उजुरी दिएपछि जिल्ला प्रहरी परिसरमा ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ शीतल (पिंकी) सँग छलफल भयो। छलफलमा पिंकीले आफूले समुदायका व्यक्तिहरूसँग विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको नाममा शेयरका लागि रकम सङ्कलन गरेको स्वीकार गरिन्। तर रकम फिर्ता गर्नुपर्ने पीडितको मागमा उनी अर्कै कम्पनी देखाउँदै उम्कने प्रयासमा लागिन्। उनले इनर्जी इन्जिनियरिङ कम्पनीको शेयर प्रमाणपत्र दिने भन्दै प्रहरीलाई नै झुक्क्याउने कोसिस गरिन्।
पिंकी कानुन व्यवसायी र इनर्जी इन्जिनियरिङका प्रतिनिधिसहित ब्लु डायमन्ड सोसाइटीका कर्मचारी लिएर प्रहरी कार्यालय पुगेकी थिइन्। तर प्रहरी निरीक्षक दिपक केसीको कार्यकक्षमा भएको छलफल निष्कर्षमा पुग्न सकेन। उल्टै, प्रहरी निरीक्षक केसीले “आपसमा मिलेर समाधान खोज” भन्दै पीडितलाई फर्काइदिए।
प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितहरू जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगे। सहन्यायाधीवक्ता रामहरि काफ्लेले तत्कालै पिंकीलाई फोन गरेर बोलाए र समुदायका सदस्यसँग लिएको रकम तत्काल फिर्ता गर्नुपर्ने चेतावनी दिए। सरकारी वकिलको कार्यालयमा पनि दलबलसहित पुगेकी पिंकीले रकम लिएको स्वीकार गरिन् तर फिर्ता गर्ने विषयमा अलमल्याउने जवाफ दिइन्।
पीडितको उजुरी दर्ता गर्नुपर्ने माग अस्वीकार गर्दै सहन्यायाधीवक्ता काफ्लेले उजुरी उल्टै पीडितलाई नै फिर्ता दिए। पिंकीसँग भएको छलफल लगत्तै सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले बोली फेरे। स्रोतका अनुसार सोमबार पीडितहरूसँग छलफल हुनु अघि आइतबार नै पिंकीको टोली प्रहरी र सरकारी वकिलको कार्यालय पुगेको र त्यहाँ गोप्य बैठक गरेको खुलासा भएको छ। सो बैठकपछि दुवै निकायले आफ्नो धारणा बदलेको गम्भीर आरोप पीडितहरूले लगाएका छन्।
सुरुमा जसरी पनि लिएको रकम फिर्ता गर्नुपर्ने बताएका काफ्लेले, पिंकीसँग छलफल भएपछि उजुरी दर्ता गर्न अस्वीकार गरे।” उजुरी दर्ता हुन नसकेपछि पीडितहरूले हुलाकमार्फत उजुरी पठाएका छन्।
पिंकीले समुदायका व्यक्तिहरूलाई दिएको शेयर बिक्रीका रसिदहरू विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीकै भएका तर ती कागजात अद्यावधिक नभएको पुष्टि भैसकेको छ। प्रहरी परिसर काठमाडौँमा भएको छलफलमा कम्पनी अद्यावधिक भएको प्रमाणपत्र पेस गर्न पिंकी र उनका कानुन व्यवसायीले सकेनन्। बरु उनीहरूले पुरानो दर्ता प्रमाणपत्र देखाउँदै ‘यही हो, यही’ भन्दै जिद्दी गरिरहेका थिए।
गलत कागजात देखाएर समुदायका सदस्यको लाखौँ रकम झ्वाम्म पार्ने प्रपञ्चमा पिंकी संलग्न भएको प्रमाण खुलेको छ। रकम लिएको स्वीकार गरे पनि फिर्ता गर्ने बेला उनले इनर्जी इन्जिनियरिङ कम्पनीको शेयर प्रमाणपत्र देखाएर उम्कने प्रयास गरेको पीडितको गुनासो छ।
समुदायको अधिकारका लागि स्थापना गरिएको ब्लु डायमन्ड सोसाइटी अहिले पिंकी जस्ता स्वार्थ समूहको कब्जामा परेको पीडितहरूको दाबी छ। संस्थापक अध्यक्ष सुनिल बाबु पन्तले करिब १३ वर्षअघि नेतृत्व हस्तान्तरण गरेदेखि संस्था पिंकी, मनिषा ढकाल, भूमिका श्रेष्ठ, सञ्जय शर्मा, प्रकाश निरौला लगायत सानो स्वार्थी समूहको नियन्त्रणमा परेको समुदायले आरोप लगाएका छन्। पन्त स्वयं पनि आफ्नो हातले स्थापना गरेको संस्था यसरी स्वार्थी समूहको चङ्गुलमा परेको देख्दा स्तब्ध छन्।
पन्त पीडितको न्यायका लागि सक्रिय भएर लागेका छन्। तर स्वार्थी समूहले पीडित पुग्ने निकायहरूलाई दबाब र प्रभावमा पारेका कारण उनीहरूले अझै न्याय पाउन सकेका छैनन्। पीडितहरूले पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता नपाएपछि निराश बनेका छन्। अन्ततः उनीहरूले सार्वजनिक रूपमा आवाज उठाउँदै न्यायका लागि सबैसँग गुहार मागिरहेका छन्।
उनीहरूले जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिलको कार्यालयमा हुलाकमार्फत उजुरी पठाइसकेका छन्। पीडितहरूको माग एकै छ – “शेयरका लागि भनेर उठाएको पैसा फिर्ता गरिदिनुपर्छ।”
पीडितका अनुसार, पिंकीले सोसाइटीको अध्यक्षका हैसियतमा देशभरका समुदायका सदस्यलाई उर्दी जारी गरेर रकम सङ्कलन गरेकी थिइन्। अध्यक्षकै आदेशमा ऋणपान गरेरै भए पनि ५० भन्दा बढी व्यक्तिहरूले पिंकीलाई नगद बुझाएको विवरण उजुरीमा उल्लेख छ। भक्ति शाह र सुदिप गौतमले रकम पठाउन लगातार फोन गरेको तथ्य पनि पीडितहरूले स्मरण गरेका छन्।
तर पिंकी कानुन व्यवसायी समेत लिएर आफैँलाई पीडित देखाउने, उल्टै समुदायका व्यक्तिबाट सङ्कलन गरेको नगद पचाउन खोज्ने योजनामा सक्रिय रहेको पीडितहरूको आरोप छ। सोसाइटीको पारिश्रमिकमा राखिएका कानुन व्यवसायी र कर्मचारीहरूको दलबलमार्फत रकम गायब पार्ने योजनामा पिंकी संलग्न भएको उनीहरूको भनाइ छ।
यति मात्र होइन, उजुरी दिनेहरूलाई पिंकीले फोन गरेर धम्की दिने, रिसिभ नगरेमा म्यासेज पठाएर एक्ला-एक्लै भेट्न दबाब दिने गरेको पीडितहरूको दाबी छ।
विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी अस्तित्वमै नभएको थाहा हुँदाहुँदै पिंकीले अर्कै कम्पनीको शेयर प्रमाणपत्र देखाएर फस्ल्याङफुस्लुङ गर्ने गरेको प्रमाण प्रहरी परिसरमा भएको छलफलमै खुलेको पीडितहरूको भनाइ छ।
सोसाइटीका संस्थापक पन्तको साथ पाएका पीडितहरूले पिंकीबाट रकम फिर्ता गराएरै छाड्ने सङ्कल्प सार्वजनिक गरेका छन्।

