पिंकी र पीडितबीच प्रहरी परिसरमा भएको छलफल निष्कर्षविहीन (फलोअप अपडेट )

काठमाडौं । हाइड्रोको शेयर बिक्री घोटाला प्रकरणमा मुछिएकी ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ शीतल (पिंकी) र पीडितबीच काठमाडौं जिल्ला प्रहरी परिसरमा भएको छलफल निष्कर्ष विहीन बनेको छ।
२०७४ सालमै विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको रसिद देखाएर रकम सङ्कलन गरेकी पिँकी प्रहरीको बोलावटमा दिउँसो ३ बजे उपस्थित भइन्। उनीसँगै सोसाइटीमा कार्यरत सञ्जय शर्मा, पिटर राई, सुदिप गौतम, वकिल र इनर्जी इन्जिनियरिङ कम्पनीका म्यानेजर जितमान शेर्पा पनि थिए।
छलफल सुरु हुनासाथ पिँकीले पीडितलाई आफूसँगै बोलाएर “किन उजुरी गरेर बदनाम गरियो?“ भन्ने गुनासो पोखिन्। तर, पीडितहरूले ८ वर्षअघि बुझाएको रकम फिर्ता गरिदिन भने। त्यसमा पिँकीको तर्फबाट कानुन व्यवसायीले उल्टै पीडितलाई दबाउने शैलीमा “के प्रमाण छ पैसा बुझाएको?“ भने।
यसपछि पीडितले आक्रोशित बने। उनीहरूले प्रतिवाद गर्दै भने—“हामी सिधा–साधा समुदायका सदस्य हौँ, पैसा हामीले पिँकीलाई बुझाएका हौँ, पिँकीले नै फिर्ता दिनुपर्छ।“
जिल्ला प्रहरी परिसर काठमाडौँमा कानुन व्यवसायी र पीडितबीच लामो समयसम्म नोकझोक चल्यो। उजुरीकर्ता दुई जना भए पनि सोही छलफलमा खुलासा भयो—यस घोटालामा ५० जना भन्दा बढी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आफ्नो पसिना बगाएर जम्मा गरेको रकम डुबेको छ।
त्यसमध्ये एक पीडित, जसले १ लाख रुपैयाँ बुझाएर विवेकशील आदर्श कम्पनीको रसिद लिएका थिए, उनी पनि छलफलमा सहभागी भए। तर, पिँकीले “रकम मैले सङ्कलन गरेको होइन“ भनेर प्रत्यक्ष इन्कार गर्न सकिनन्। रकम सङ्कलन गरेको स्वीकार गरिन पिंकीले।
बरु इनर्जी इन्जिनियरिङका म्यानेजरलाई देखाउँदै “शेयर प्रमाणपत्र दिलाउने भनेर जिम्मेवारीबाट पन्छिन खोजिन्।
पीडितले प्रतिप्रश्न गरे—“रकम सङ्कलन एक कम्पनीबाट, प्रमाणपत्र अर्कै कम्पनीको किन? के यसमा छलछाम भएको होइन?“ त्यसमा म्यानेजर शेर्पाले “आइपिओ खुलेपछि एप्लाइ गर्नु, शेयर पाइन्छ“ मात्र भने।
तर, पीडितहरू चित्त बुझाउन सक्ने अवस्थामा थिएनन्। उनीहरूले नक्कली प्रमाणपत्र देखाएको, किर्ते हस्ताक्षर गराइएको आरोप लगाए। अझै, पिँकीले “समुदायका सदस्यलाई प्रहरीले पक्रिँदा म छुटाइदिने गर्थेँ“ भन्दै भावनात्मक सहानुभूति लिन खोज्दा उल्टै पीडितले जवाफी फायर गरे,“चौकीमा परेका सदस्यलाई छुटाउने नाममा कमिसन खाने गरेको होइन?“ भनेर सोधे।
कानुन व्यवसायीले विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको दर्ता प्रमाणपत्र देखाए। तर,विवेकशील आदर्श दर्ता भएदेखि हालसम्म अद्यावधिक नभएको प्रश्नमा उनीहरू नाजवाफ भए। विवेकशील हालसम्म अद्यावधिक नभएको पुष्टि भैसकेको छ।
जब पीडितले “कुन बैङ्कमा पैसा जम्मा छ?“ भनेर सोधे, पिँकीले “भिभोर विकास बैङ्कमा राखेको“ बताइन्। तर वास्तविकता के थियो भने—भिभोर बैङ्कमा सञ्जीव गुरुङ (पिँकी) को नाममा जम्मा भएको रकम जम्मा २ हजार रुपैयाँ मात्र फेला पर्यो।
यो तथ्य खुलेपछि पीडित थप रिसाए। पिँकीले विवेकशील आदर्शबाट इनर्जी इन्जिनियरिङमा रकम ट्रान्सफर गरेको भनिन् तर त्यसको प्रमाण दिन नसक्दा छलफल झनै तनावपूर्ण बन्यो।
“यदि इनर्जी इन्जिनियरिङकै शेयर हो भने किन विवेकशील आदर्शको रसिद दिएर पैसा उठाइयो?“ पीडितको प्रश्नले पिँकी र उनका वकिललाई जवाफविहीन बनायो।
छलफलको अन्त्यतिर पिँकीले आफू पनि पीडित भएको दाबी गरिन्। तर पीडितको प्रतिप्रश्न—“पीडित थियौ भने उजुरी किन गरिनौ?“—उनी जवाफ दिन नसक्ने गरी मौन भइन्।
इनर्जी इन्जिनियरिङका म्यानेजर शेर्पाको सम्पर्क नम्बर माग्दा समेत नदिएपछि पीडितको आक्रोश अझै बढ्यो। पटक पटक माग्दा पनि नम्बर उपलब्ध नगरिँदा छलफल बिना निष्कर्ष सकियो।
छलफलपछि प्रहरीले सुझाव दियो,“नजिकको प्रहरी कार्यालयमा किर्ते उजुरी दर्ता गर्न सकिन्छ। पहिले इनर्जी कम्पनीमा गएर आफ्नो शेयर भए नभएको बुझ्नुहोस्।“
पीडितहरूले भने—“हामी सजिलै कमाउने होइनौँ, पसिना बगाएर कमाएका पैसा हो। समुदायकै नेतृत्व गर्ने भनी विश्वास गरेर बुझाएको रकम अनियमित भएको देखियो हामी चुप लागेर बस्दैनौँ।“
समुदायकै नाममा लाखौँ रकम सङ्कलन गर्ने तर त्यसलाई नक्कली प्रमाणपत्र, अद्यावधिक नभएका कम्पनी र कानुनका पर्खालभित्र छोप्ने प्रयास भएको आरोपसहित पीडितहरूले थप प्रमाण जुटाएर फेरि प्रहरीमा जाने बताएका छन्।
आवश्यक कागजात उपलब्ध गराउन माग
हाइड्रो सेयर बिक्री घोटाला प्रकरणमा संलग्न रहेको भन्दै उजुरी गरेका पीडितहरूले ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ शीतल (पिँकी) लाई आधिकारिक पत्र पठाउँदै आवश्यक कागजात उपलब्ध गराउन माग गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँमा भएको पछिल्लो छलफल निष्कर्षविहीन बनेपछि पीडितहरूले पिँकीलाई सम्बोधन गर्दै “आवश्यक परिचय र दस्ताबेज उपलब्ध गराउने सम्बन्धमा” शीर्षकसहित पत्र लेखेका छन्।
पीडितहरूले पत्रमा भनेका छन्—प्रहरी र पिँकी दुवै पक्षले Energy Engineering Pvt. Ltd. मा गई प्रमाणपत्रको सत्यता र लगानीको अवस्था बुझ्न सुझाव दिएको भए पनि उक्त कम्पनीसँग पीडितहरूको प्रत्यक्ष परिचय नभएको र कम्पनीले पनि उनीहरूलाई चिन्न नसक्ने भएकाले पिँकीले आधिकारिक रूपमा परिचय गराइदिने व्यवस्था मिलाउनुपर्छ।
त्यससँगै पीडितहरूले अध्ययनका लागि पाँच बुँदामा आवश्यक प्रमाणपत्र र विवरण उपलब्ध गराउन माग गरेका छन् :
१. विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा. लि. को प्रारम्भिक सेयर आवेदनको आधा कट्टी (Ardhakatti) – जुन अहिलेसम्म पीडितले प्राप्त गर्न सकेका छैनन्।
२. विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा. लि. को बैङ्क जम्मा भौचर – जसलाई पिँकीले सामूहिक रकम जम्मा गरेको भन्दै प्रहरी छलफलमा प्रस्तुत गरेकी थिइन्।
३. विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा. लि. र Energy Engineering Pvt. Ltd. बीच भएको सम्झौता पत्र (MoU)।
४. Energy Engineering Pvt. Ltd. को दर्ता स्थिति र कार्यालय भाडा (Rental) सम्बन्धी विवरण।
५. Energy Engineering Pvt. Ltd. मा पीडितहरूको सेयर होल्डिङ प्रमाणित गर्ने प्रमाणहरू।
पत्रमा उल्लेख भएअनुसार यी सबै कागजातहरू अध्ययन गरी मात्रै पीडितहरू पिँकीलाई पुनः सम्पर्क गर्ने र समाधानका उपायबारे छलफल गर्ने जनाइएको छ।
पीडितहरूको यो कदमलाई समुदायभित्र महत्त्वपूर्ण रूपमा लिइएको छ। उनीहरूले भनेका छन्, “हामी सजिलै कमाउने होइनौँ, पसिना बगाएर जम्मा गरेको रकम हो। त्यसैले प्रमाण नदिएसम्म हामी चुप लागेर बस्दैनौँ।”