सिद्धबाबा सुरुङमार्गको निर्माणले गति लियो, मुख्य टनेल सञ्चालनयोग्य
कृष्णप्रसाद भट्टराई
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। सुरुङमार्गमा हाल मुख्य टनेलको भुइँ र भित्ताको ढलान (टनेल लाइनिङ) कार्य भइरहेको छ। अन्य सहायक संरचनाहरूमा पनि काम जारी छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भइसकेको छ, जसपछि निर्माण कार्यमा तीव्रता आएको हो।
आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५९.७३ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ।
मुख्य सुरुङमार्गको १,०८९ मिटर इन्भर्ट (भुइँ भाग) ढलानको काम सकिएको छ भने ९९४ मिटर लाइनिङ सम्पन्न भइसकेको छ। थप २९२ मिटर क्षेत्रमा लाइनिङ कार्य चलिरहेको छ।
सुरुङमार्गमा निर्माण भइरहेको तीन वटा बाइपासमध्ये पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ, दोस्रोमा १५७.८ मिटर इन्भर्ट र ८.३ मिटर लाइनिङ तथा तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र १०४.२ मिटर लाइनिङ सम्पन्न भएको छ।
दुई लेनको मुख्य सुरुङमार्गको लम्बाइ १,०८९ मिटर, चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहनेछ। हाल सुरुङभित्र आवश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको आयोजनाले जनाएको छ।
सुरुङमार्ग २०७९ सालदेखि सुरु गरिएको हो। यसको निर्माण कार्य चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। कुल लागत ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको छ। आयोजना कार्यालयका अनुसार सम्पूर्ण काम २०८३ सालभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

