खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताएका छन् ।
आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगको लागि अध्ययन तथा अनुसन्धान जस्ता कार्यहरु वैज्ञानिक तथ्यहरुमा आधारित भइ अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित प्रकोप न्यूनिकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनीकरणका विषयमा केन्द्रित रही महत्वपूर्ण छलफल र योजना आवश्यक छ।’
नागरिकको पहिलो आवश्यकता खानेपानीको सहज आपूर्ति तथा देशको आर्थिक समृद्धिको मुल आधार मानिने भएकाले सोही अनुसार कामहरु अगाडी बढाउन आवश्यक रहेको मन्त्री यादवको भनाई छ । उनले जलस्रोतको उपयोग, व्यवस्थापन, र संरक्षणका सन्दर्भमा वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनका गहिरिँदै गएका प्रभावहरू र अनियन्त्रित जनसङ्ख्या वृद्धिका कारण सतहमा रहेका जलस्रोतहरूमा अत्यधिक चाप परेकाले यसको प्रत्यक्ष असर भूमिगत जल स्रोतको तीव्र दोहनका रूपमा देखिएकाले यसको दीर्घकालीन रूपमा गम्भीर समस्या बन्न सक्ने मन्त्री यादवले बताए ।
उनले नेपालमा विशेषगरी तराईका लाखौँ नागरिकको जीवनमा भूमिगत जलको प्रत्यक्ष प्रभाव रहेको बताउँदै यसको महत्व अझै पनि व्यापक रूपमा बुझ्न नसकिएको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।