६ लाख टन मलको आपूर्तिका लागि ४४ अर्ब आवश्यक: मन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा उल्लेखनिय सुधार भएको बताएका छन्।
अनुदानमा वितरण गरिने रासायनिक मलको आपूर्ति तथा वितरणको अवस्था एवं यस सम्बन्धमा प्रतिनिधिसभाको आकस्मिक,शुन्य तथा विशेष समयमा उठेका विषय र मन्त्रालयले गरेका प्रयासहरुका बारेमा जानकारी गराउँदै उनले यस्ताे बताए।।
उनले अथक प्रयासले कृषकको माग अनुसार सबै बालीका लागि सबै सिजनमा उच्चतम मात्रामा अनुदानको मल पुर्याउन नसकेको भएपनि मन्त्रालयलाई प्राप्त बजेटबाट ल्याउन सकिने मल ल्याएकाे जिकिर गरे। मन्त्री अधिकारीले अहिलेको बजेटबाट मागअनुसार मल उपलब्ध गराउन नसकिने भएकाले अनुदानको बजेट वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए।
यस वर्ष कुल ४ लाख ९१ हजार टन मल आयात गरिएको जुन अहिलेसम्मकै उच्च रहेको पनि उनले बताए। चालु आवको बजेट वक्तव्यमा ६ लाख टन मलको आपूर्तिको लागि ४४ अर्ब आवश्यक देखिएकोले मन्त्रालयलाई थप १५ अर्ब बजेट आवश्यक रहेको पनि मन्त्री अधिकारीले संसदमा जानकारी गराए।