सामाजिक सुरक्षा कोषमा ८८ अर्ब संकलन, १६ अर्ब दाबी भुक्तानी

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा हालसम्म ८८ अर्ब रुपैयाँ संकलन भएको छ । उक्त रकम संकलन हुँदा कोषले योगदानकर्तालाई १६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । कोषले सोमबार सम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा १६ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत २ अर्ब ४२ करोड ७२ लाख ८९ हजार ४४४ रुपैयाँ संकलन भएकोमा १ लाख १२ हजार ६८३ योगदानकर्तालाई २ अर्ब २० करोड ५५ लाख ७४ हजार ४३३ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार योजना अन्तर्गत ५ अर्ब ४२ करोड १८ लाख २५ हजार ४५५ रुपैयाँ संकलन भएकोमा ६ हजार ७८९ जना योगदानकर्तालाई ४७ करोड १९ लाख ७१ हजार २८१ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
वृद्ध अवस्था सुरक्षा योजना वापत ७० अर्ब १३ करोड २ लाख ९४ हजार ४४८ रुपैयाँ संकलन गरेकोमा १ लाख १४ हजार ७७३ जनालाई १३ अर्ब ४८ करोड २ लाख ३७ हजार ४५२ रुपैयाँ भुक्तानी गरेको छ ।
कोषमा कति आबद्ध भए ?
कोषमा नेपालमै रहेर काम गर्ने भन्दा वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध भएका छन् । कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख २४ हजार ५१७ जना वैदेशिक रोजगारीमा गएका श्रमिकहरु कोषमा आवद्ध भएका छन् । हाल सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका २१ हजार २८३ जना श्रमिक आबद्ध भइसकेका छन् ।
सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत कोषमा जोड्दै लैजाने बताएपनि धेरै विस्तार गर्न सकेको छैन । हालसम्म जम्मा ७४० जना अनौपचारिक क्षेत्रका श्रमिक कोषमा आवद्ध भएका छन् भने ४५५ जना स्वरोजगार कोषमा आवद्ध भएका छन् ।