भारतको राज्यसभा सांसद् एवं पूर्वविदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल आउने

काठमाडौँ । भारतको राज्यसभाका सांसद् एवं भारतका पूर्वविदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल आउने भएका छन् । धार्मिक अभियन्ता एवं अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंस कालिदास बाबा (कालीबाबा) सँग भारतको सिलिगुढीमा भएको भेटवार्तामा सांसद् श्रृङ्गलाले नेपालको धार्मिक भ्रमणमा आउने प्रस्ट पारेका हुन् ।
कालीबाबासँगै कालिका साधना आश्रम नेपालका अध्यक्ष डा. मिलनकुमार थापाले सांसद् श्रृङ्गलालाई आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरको दर्शनका लागि निमन्त्रणा गरेका हुन् । भेटवार्तामा सांसद् श्रृङ्गलाले ऐतिहासिक एवं जनस्तरमा रहेको सम्बन्धलाई अझै सशक्त बनाउनुपर्ने बताए । श्रृङ्गलाले नेपाल र को धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि नवीन थालनी गर्नुपर्ने र समुन्नतिका लागि पनि सहकार्य गर्नुपर्ने बताए । श्रृङ्गला भारतको विदेश मन्त्रालयमा रहँदा विभिन्न देशमा राजदूत एवं जी–२० सम्मेलनका प्रमुख संयोजक थिए ।
भेटवार्तापछि धार्मिक अभियन्ता कालीबाबाले नेपाल र भारतबिचको सदियौँदेखिको सम्बन्धलाई नवीन उचाई दिन, धार्मिक क्षेत्रको विकास र प्रवर्द्धन गर्न तथा नेपाली युवा पलायन रोक्नका लागि धार्मिक पर्यटनलाई विकास र विस्तार गर्नुपर्ने बताए ।
कालीबाबाले नेपालको समुन्नतिमा अब युवा अग्रसरता आवश्यक रहेको बताउँदै पलायनभन्दा पनि पौरखमा विश्वास गरेर देशको समृद्धिको अभियानमा एकाकार हुन आह्वान गरेका छन् । ‘युवा विदेश पलायन हुनु नपरोस्, देशमा शान्ति समुन्नति होस् र रोजगारी सिर्जना होस् भन्ने अभिप्रायले नै नेपालको धार्मिक पर्यटनको प्रचार प्रसार व्यापक बनाइएको हो,’ कालीबाबाले भने ।
कालिका साधना आश्रमका अध्यक्ष डा. मिलनकुमार थापाले नेपाल र भारतबिचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाउँदै पशुपतिनाथ मन्दिर दर्शनका लागि वार्षिक ५० लाखभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले काम अघि बढाइएको बताए ।
डा. थापाले भारतमा पशुपति दर्शन अभियान सञ्चालन गरिएपछि धार्मिक पर्यटन आगमन बृद्धि भएको जानकारी दिँदै यो कार्यलाई अझै बढावा दिने बताए । ‘विश्वभरिका सनातन धर्मावलम्बीको केन्द्र बन्नसक्छ नेपालको धार्मिक पर्यटन, त्यसैले संस्थागत एवं व्यक्तिगत पहल थालिएको हो,’ डा. थापाले भने ।
यसअघि, कालीबाबाकै निमन्त्रणामा पशुपतिनाथ मन्दिरस्थित हंसमण्डपमा साउन १४ देखि २४ गतेसम्म सञ्चालित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र पशुपतिनाथ मन्दिर दर्शन गर्न भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवाल आएका थिए ।
मन्त्री सोनावालले नेपालको धार्मिक पर्यटनको विकासमा सहयोग गर्ने प्रस्ट पारेका छन् । महायज्ञका प्रमुख सल्लाहकार डा. थापाले धार्मिक अभियन्ता डा. गुरूजी कुमारन स्वामीसहित धार्मिक अभियन्ता, कलाकार एवं राजनीतिज्ञलाई पशुपतिनाथ मन्दिर दर्शन र महायज्ञमा आमन्त्रण गरेका थिए ।
धार्मिक अभियन्ता कालीबाबा संकल्पित दशमहाविद्या रुद्रहवन महायज्ञ २०० औँ हवन हो । अब भारतको सिलिगुढीमा २०१ औँ महायज्ञ आयोजनाको तयारी भइरहेको छ । कालीबाबाले विश्वशान्ति, समुन्नति, आर्थिक विकासको लक्ष्य राखेरै हवन एवं महायज्ञको संकल्प गरेका हुन् ।
सांसद् श्रृङ्गलालाई अभिनन्दन
सांसद् श्रृङ्गलालाई बिहीबार दार्जीलिङमा नागरिक अभिनन्दन गरिएको छ । दार्जीलिङ वेलफेयर सोसाइटी कालेबुङ जिल्लाका महासचिव सुमनकुमार बस्नेतले सांसद् श्रृङ्गलालाई दार्जीलिङको भूमिपुत्रका रुपमा सम्मान गरिएको जानकारी दिए । गोरखा रंगमञ्च भानु भवनमा नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरिएको हो ।