नागार्जुनको ‘बद्रीनारायण धाम’ धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा रहेको बद्रीनारायण धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
वाचन शिरोमणी पण्डित स्वर्गीय नारायण पोखरेलको स्मृतिमा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा अहिले धार्मिक पर्यटक बढ्न थालेका हुन् । उक्त धाममा हाल दैनिक एक हजार र विदाको दिनमा पाँच हजारसम्म भक्तजन दर्शनका लागि जाने गरेका छन् ।
गत वैशाख १९ देखि २७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बद्रीनारायण धामको मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजा सुरु गरेसँगै अहिले बद्रीनारायणको दर्शन गर्न दैनिक हजारौँ भक्तजनहरु नागार्जुन पुग्ने गरेका हुन् ।
लण्डनबाट बद्रीनारायण धामको दर्शनका लागि आउनुभएका निरज खड्का नेपालमै बद्रीनारायणको दर्शन गर्न पाउँदा आफूलाई ज्यादै आनन्दित तुल्याएको बताउनुभयो । “धेरै मानिसहरु बद्रीनारायणको दर्शन गर्न भारतलगायत विदेश जानुपरेको छ, नेपालमै यत्रो धाम निर्माण हुनु नेपाल र नेपालीका लागि खुशीको कुरा हो,”– उनले भने ।
काठमाडौँको लामाटारबाट बद्रिनारायण धामको दर्शनका लागि आउनुभएकी निर्मला घिमिरे बद्रीनारायण धामको दर्शन गर्न पाएकोमा सारै खुशी हुनुहुन्छ । “बद्रीनारायण धामको दर्शनका लागि भारत जानुपरेन यहिँ दर्शन गर्न पाएकोमा सारै खुशी लागेको छ,”– उनले भने ।
यस्तै, लण्डनबाटै बद्रीनारायण धामको दर्शनका लागि आउनुभएकी सामना बाला पनि नेपालमै बद्रीनारायण धाम निर्माण भएकोमा ज्यादै खुशी हुनुहुन्छ । रामकोटमा २२ रोपनी क्षेत्रफलमा उक्त धाम निर्माण भएको छ ।
उक्त धाममा रु नौ करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ र उक्त मन्दिरको प्राण प्रतिष्ठासमेत सम्पन्न भइसकेको छ । यस्तै, धामभित्र नारायण आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ ।
५२ करोड लगानीमा निर्माण हुँदै गरेको उक्त धामलाई पूर्णता दिनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सहकार्य गरी रकम जुटाउने काम भइरहेको नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक एवम् धामका पीठाधीस पण्डित दिनबन्धु पोखरेलले जानकारी दिए ।
उक्त धाम निर्माणका सरकारले २२ रोपनी जग्गा उपलब्ध गराएको थियो । चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गरिएको पण्डित पोखरेलले बताए ।
स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आएका थिए ।
विस २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ । स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।
स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार एक सय ३६ पुराण वाचन गर्नुभएको थियो । पोखरेलको निधन भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।
प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहद् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुभयो । “नेपालमै ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै गएको छ”,– उनले भने ।
उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ ।