हर्क साम्पाङकी आमालाई ‘मौलशोभा राई आमा सम्मान’ अर्पण गरिने

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई जन्मदिने आमा जसमाया राईलाई यो वर्षको ‘मौलशोभा राई आमा सम्मान’ अर्पण गरिने भएको छ । ‘मौलशोभा राई आमा सम्मान’ पुस्कृत व्यक्तित्व छनौट समितिको बुधबार काठमाडौँमा बसेको बैठकले जसमाया राईलाई छनौट गरेको हो ।
समितिका संयोजक डा. सुकराज राईको अध्यक्षतामा बसेको बैठकले आजै सुकमायाको नाम घोषणा ग¥यो । समितिका सदस्यहरुमा टंक भट्टराई, सम्पदा लिम्बु, योगेन्द्र राई र डिल्ली रमण सुवेदी रहेका थिए ।
श्रम अभियान, सुशासन, विकास र युवा सोचका साथ धरान उपमहानगरपालिकाको प्रमुखका रुपमा देश विदेशमा परिचित र अनुकरणीय व्यक्तित्व हर्क साम्पाङलाई जन्मदिने आमाको सम्मान गर्नुपर्छ भनेर जसमायालाई छनौट गरिएको समितिका संयोजक डा. सुकराज राईले बताए । यो नौलो र उदाहरणीय प्रयास भएको भन्दै उनले पुरस्कार संस्थापक डा. पुरण राईलाई धन्यवाद ज्ञापन गरे ।
घोषणा सभामा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले चर्चित र उदाहरणीय व्यक्तित्वलाई जन्मदिने आमाको खोजी गरी सम्मान गरिनु आफैँमा नौलो प्रयास भएको बताए । यो सुखद् शुरुवातले निरन्तरता पाओस् भन्दै उनले शुभकामना व्यक्त गरे ।
अतिथि प्रा.डा. विष्णु राईले बाआमा बितिसकेपछि सम्मान गर्ने हाम्रो प्रचलन रहेको तर डा. राईले आमा जीवित रहँदै सम्मान गर्नु सह्राहनीय कार्य भएको भन्दै शुभकामना दिए ।
अतिथि तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले आमाबुबा जीवित हुँदा नै सम्मान र माया नदिएर मरेपछि धुमधामका साथ श्राद्ध गर्ने प्रचलन खराब भएको बताए । सम्मानको राशी कति छ भन्दा पनि आमा र आमाको परिवार तथा समाजमा कस्तो सन्देश जान्छ त्यो चाहिँ महत्वपूर्ण हुने भएकोले यो सम्मान कार्यक्रम अनुकरणीय रहेको उनले बताए ।
आमाको खुसीका लागि पनि यो सम्मान स्थापना गरिएको पुरस्कार संस्थापक डा. पुरण राईले बताए । राई मुन्धुम र संस्कारमा मछाकुमा (आमाको आमा, आमा जन्माउने आमा) को पूजा गर्ने संस्कार रहेकोले त्यसलाई नै आधार मानेर यो सम्मान स्थापना गरिएको उनले बताए । आफ्नो निजी कमाईबाट वार्षिक रुपमा सम्मानसहित ५० हजार पुरस्कार पनि अर्पण गर्ने गरिएको उनले सुनाए ।
यो पुरस्कारलाई स्रष्टा, सर्जक एवम् अनुसन्धाता डा. पुरण राईले आफ्नी आमा मौलशोभा राईको सम्मानमा २०८० सालमा स्थापना गरेका हुन् । अघिल्लो वर्ष लेखिका तथा कवि दीपा राई पुनलाई जन्मदिने आमा विमला राई (साम्पाङ) लाई अर्पण गरिएको थियो ।
प्रत्येक वर्ष डा. राईको जन्मदिनको अवसर पारेर यो पुरस्कार घोषणा गर्ने गरिएको छ । पुरस्कार वितरण भने पछि कुनै विशेष अवसर पारेर अर्पण गरिने पुरस्कार संस्थापक डा. राईले जानकारी दिए । कार्यक्रममा डा. राईको जन्मदिवस पनि धुमधामका साथ मनाइयो ।
कार्यक्रम समितिका सदस्य टंक भट्टराईले सञ्चालन गरेका थिए ।