बीरगन्जमा आयातित आहारपूरक खाद्य पदार्थ रोक्का

बीरगन्ज । भारतबाट पैठारीका लागि ल्याइएका आहारपूरक खाद्य पदार्थ निरीक्षणपछि रोक्का गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बीरगन्जले गरेको निरीक्षणमा दर्ता विवरणभन्दा फरक सामग्री भेटिएपछि सो पदार्थ रोक्का गरिएको हो।
कार्यालयका अनुसार योर देल्हि वान ट्रेडर्स, बीरगन्जले ल्याएको GNC Marine Collagen (१०० ग्रामका १४.४ केजी र २०० ग्रामका ४३.२ केजी) तथा GNC Fish Oil (१६.२ केजी) मा दर्ता गरिएको Active Ingredients भन्दा फरक विवरण उल्लेख गरिएको पाइयो।
यस विषयमा विभागले मिति २०८२ साउन २० गते बीरगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाउँदै ती उत्पादन आयात नगर्न निर्देशन दिएको छ। साथै, विभागले सम्बन्धित व्यवसायीलाई दर्ता नगरेका आहारपूरक खाद्य पदार्थ (Dietary Supplements) आयात तथा बिक्री वितरण नगर्न चेतावनी दिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थ पैठारी गर्न चाहने व्यवसायीले अनिवार्य रूपमा विभाग वा तोकिएको कार्यालयबाट स्वीकृति लिनुपर्ने र प्रवेश नाकामा ल्याइसकेपछि पनि प्रवेश अनुमति प्राप्त गर्नुपर्ने प्रावधान छ। विभागले सो प्रावधान विपरीत कार्य गरे ऐन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।