खाद्य पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार, भारतले पनि प्रमाणपत्र मान्यता दिने

काठमाडौं । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ।
विभागले ८१४ वटा परीक्षण प्यारामिटरका लागि भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटरिज(एनएबीएल) बाट आइएसओ, आइसीइ १७०२५ः२०१७ अन्तर्राष्ट्रिय प्रत्यायन प्राप्त गरेको जनाएको छ।
यसअघि सन् २०२४ सम्म ३८६ वटा परीक्षण प्यारामिटरमा मात्र प्रत्यायन प्राप्त भएकोमा, यस वर्ष (२०८२) मा ६७२ वटा केमिकल र १४२ वटा माइक्रोबायोलोजिकल गरी कुल ८१४ वटा परीक्षण प्यारामिटरमा एक्रिडिटेशन क्षेत्र विस्तार गरिएको हो।
भारतसँगको सहकार्यअन्तर्गत २०८१ चैत २२ गते (सन् २०२५ अप्रिल ४) मा एफएसएसएआइले नेपालबाट भारत निर्यात हुने खाद्य वस्तुका लागि डिएफटीक्यूसीद्वारा जारी सर्टिफिकेट र फुड सेफ्टी एन्ड क्वालिटी एक्सपोर्ट सर्टिफिकेटलाई औपचारिक मान्यता दिने निर्णय गरेको छ।
पहिलो चरणमा भारतले जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, अदुवा र ताजा फलफूल तथा तरकारीहरूका परीक्षण प्रमाणपत्रलाई मान्यता दिने भएको हो।
विभागले खाद्य प्रयोगशालाको एक्रिडिटेशनलाई अझ व्यापक बनाउँदै खाद्य एडिटिभ्स तथा कन्टामिनेण्ट्स परीक्षणका लागि पनि १२३ वटा कीटनाशक अवशेष, ११ वटा खाद्य रङ, ३ कृत्रिम गुलियो पदार्थ, ६ परिरक्षक, ४ प्रकारका भिटामिन, १९ धातु, ८ अफ्लाटक्सिनसहितका विश्लेषणात्मक प्यारामिटरसमेत थप गरेको छ।
त्यसैगरी, विभाग अन्तर्गतको विराटनगरस्थित खाद्य प्रयोगशालाले पनि ९ प्रकारका खाद्य वस्तुका ४६ वटा परीक्षण प्यारामिटरमा एनएबीएलबाट एक्रिडिटेशन विस्तार गरेको छ।
विश्व खाद्य स्वच्छता दिवस–२०२५ को अवसरमा विभागले ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नारासहित खाद्य प्रयोगशालाको अन्तर्राष्ट्रिय एक्रिडिटेशन र प्रयोगशाला सुदृढीकरणमार्फत विश्लेषण कार्यको विश्वसनीयता अभिवृद्धि गर्न सफल भएको जनाएको छ।
विभागले भारतका लागि परीक्षण प्रतिवेदनको मान्यता सबै २२ प्रकारका खाद्य समूहमा विस्तार गर्न एफएसएसएआइसँग पत्राचार गरिसकेको र चाँडै नै औपचारिक आदेश जारी हुनेमा विश्वास व्यक्त गरेको छ।
प्रवक्ता मोहन कृष्ण महर्जनद्वारा जारी प्रेस नोटमा विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले यस उपलब्धिमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान पु¥याउने सबै सरकारी निकाय, सरोकारवाला र कर्मचारीलाई विशेष धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा गरेका छन्।