सुनको मूल्यमा वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौं | साउन ६ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला पाँच दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ ।
यस दिन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । आज मंगलबार चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । गत असार ३० गते सोमबार कायम दुई हजार ३१५ रुपैयाँको रेकर्डलाई ब्रेक गरेर नयाँ उचाई कायम गरेको हो ।