प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो

कोहलपुर । प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला बनाउने तालिम शुरु भएको छ । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तरगत रेस्टलेस डेभ्लप्मेन्टको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर २ विशालनगरमा सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरि कठायतले बास नेपालले कोहलपुर नगरपालिकामा थालेको प्लाष्टिक मुक्त अभियान अत्यन्तै प्रभावकारी रहेको बताए । कोहलपुर नगरपालिकाले प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउन कानुन निर्माण गरेको बताउदै बास नेपालले गरेको तालिमले पालिकाको नीति कार्यान्वयनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
आगामी दिनमा पालिकाको ध्यान कार्यान्वयनमा हुने बताउदै तालिमबाट सिकेको शिपलाई ब्यवहारमा लागु गर्न सहभागिलाई अनुरोध गरे । उनले सहभागिहरुले तयार गरेका कपडाको झोलाको बजारीकरणमा वडा र पालिकाले सहयोग गर्ने प्रतिबद्धता गरे । यसैगरी कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वातावरण शाखा प्रमुख विर बहादुर थापाले हरित कोहलपुरको अभियानमा तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
कोहलपुरको मुख्य चुनौतीको रुपमा रहेको प्लाष्टिकको न्यूनीकरणमा बास नेपालले थालेको प्रयास अत्यन्तै सहनिय रहेको उनको भनाई थियो । तालिममा स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश पार्दै बास नेपालका निर्देशक हेमराज भट्टले वातावरणीय प्रभावको दृष्टीकोषले प्लाष्टिकको प्रयोग घटाउदै प्लाष्टिक मुक्त कोहलपुरको परिकल्पनाका साथ अभियान सञ्चालन गरिएको बताए । सो क्रममा तालिमको बिषय बस्तुका बारेमा तालिमका प्रशिक्षक गिता बिकले जानकारी गराएका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।
कार्यक्रमको सञ्चालन बास नेपालका सिनियर सामाजिक परिचालक शोभा भण्डारीले गरेका थिए । १० जना स्थानीय महिलाहरुको सहभागिता रहेको तालिम ५ दिन सम्म चल्नेछ ।