धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य अनिवार्य: मन्त्री प्रदीप यादव

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि सबै तहका सरकार, सरोकार निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।
धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री यादवले समस्याको समाधान राजनीति होइन, सहकार्यबाट सम्भव हुने भन्दै सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले भने, “प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ, तर नगरप्रमुखसँग छलफल गर्ने समयसमेत नपाउनु दुःखद् हो।”
मन्त्रीका अनुसार संघीय सरकारले चालु आर्थिक वर्षमा धरानको खानेपानी समस्या समाधानका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। तर धरान नगरपालिकाले बजेट लिन अस्वीकार गरेको भन्दै यसले समाधान प्रक्रियालाई ढिलो बनाएको बताए।
“समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ,” मन्त्री यादवले आग्रह गरे। उनले जनताको आधारभूत अधिकार जस्तो खानेपानीमा राजनीतिक पूर्वाग्रह नराखी साझा उद्देश्यसाथ अघि बढ्न सबै पक्षलाई आग्रह गरे।
खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनताको समस्या समाधान पहिलो प्राथमिकता भएको उल्लेख गर्दै यादवले समाधानको पहिलो शर्त छलफल र समन्वय भएको बताए। “सस्तो लोकप्रियताको लागि होइन, जनताको हितका लागि सबै मिलेर अघि बढ्न जरुरी छ,” उनले निष्कर्ष निकाले।