लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी एनआईसी एशियाको पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरुको लिलामी बिक्री प्रक्रिया थप पारदर्शी र पहुँचयोग्य बनाउन एक विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले उक्त पोर्टलमार्फत सम्पूर्ण लिलामी सम्पत्तिहरुको विस्तृत विवरण सहितको जानकारी उपलब्ध गराउन थालेको जनाएको छ।
यस पोर्टलमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षणमा रहेका लिलामीमा राखिएका सम्पत्तिहरु समेटिएका छन्। ग्राहकले बैंकद्वारा प्रकाशित लिलामी सूचनामा रहेको क्युआर कोड स्क्यान गरी सिधै पोर्टलमा जान सक्ने छन्। त्यहाँबाट सम्बन्धित सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, नक्सा, फोटो तथा गुगल म्यापमार्फत लोकेशनसमेत हेर्न सकिने सुविधा छ।
बैंकले लिलामीमा राखिएका सम्पत्तिको लागि इच्छुक ग्राहकलाई थप जानकारी लिन सजिलो बनाउँदै सोही पोर्टलमै सम्पर्क विवरणसहितको म्यासेज पठाउने व्यवस्था पनि मिलाएको छ। यस माध्यमबाट ग्राहकले आफ्नो नाम, इमेल, फोन नम्बर तथा ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्नेछन्।
एनआईसी एशिया बैंकले यस्तो पोर्टलको प्रयोगले सम्पत्तिको बिक्री प्रक्रिया सहज, छरितो तथा पारदर्शी हुने विश्वास व्यक्त गरेको छ। साथै, पोर्टलमा नियमित रूपमा नयाँ सम्पत्ति तथा लिलामीसम्बन्धी सूचना अद्यावधिक गरिने भएकाले ग्राहकले नियमित अवलोकन गरी इच्छाअनुसार सम्पत्ति छान्न सक्ने बैंकले जनाएको छ।
यस प्रविधिमैत्री पहलले बैंकिङ्ग सम्पत्तिको सदुपयोग तथा खरिदकर्ताको पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ।