अब बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा चढन पाइने

काठमाडौँ । आगामी २०८२ साउन १ गतेदेखि ऐतिहासिक धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजे अर्थात १२ घण्टा सञ्चालनमा आउने भएको छ ।
अहिले बिहान १० बजेदेखि ४ बजेसम्म मात्र सर्वसाधारणका लागि खुला हुने धरहरा साउन १ गतेदेखि भने बिहान ८ बजेदेखि सञ्चालनमा ल्याउन लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नारायण मैनालीले साउन १ गतेदेखि धरहरा दुई सिफट्मा सञ्चालन गरिने बताए । सार्वजनिक विदाको दिन पर्यटक वा अन्य अवलोकनकर्ताका लागि समेत खुला हुने उनको भनाइ छ ।
ऐतिहासिक धरहरा गत २०८१ मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।