काठमाडौं गोर्खाजको शीर्ष प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेश

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने घोषणा गरेको छ।
यो साझेदारीसँगै अब काठमाडौं गोर्खाजले वर्ल्डलिंकको समर्थनमा प्रतिस्पर्धा गर्नेछ। सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच औपचारिक रूपमा हस्ताक्षर भएको हो।
सम्झौता पश्चात निर्देशक अग्रवालले नेपालमा अहिले क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको बताए। वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटलाई समर्थन गर्दै आएको छ, र अब काठमाडौं गोर्खाजमार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएकाे उनकाे भनाइ छ ।
उनले भने, “वित्तीय पक्षभन्दा महत्वपूर्ण कुरा भनेको, यस्ता प्रतियोगिताको दीर्घकालीन प्रगतिको लागि निजी क्षेत्रको सहभागिता हो। हामीजस्ता कम्पनीहरूले नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग हातेमालो गर्नुले खेलको संरचना थप मजबुत बनाउँछ।”
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वर्ल्डलिंकसँगको साझेदारीलाई “सही समयमा आएको ठूलो साथ” भनेर व्याख्या गरे।
“कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ। वर्ल्डलिंकजस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत लिगसँग जोडिएकोमा हामी हर्षित छौं,” उनले भने।
आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।
काठमाडौं गोरखाज र वर्ल्डलिंक कम्युनिकेशन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्याउने विश्वास गरिएको छ, साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्याउनेछ।