रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनु पर्छ: कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडीका देशमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने बताउनुभएको छ ।
मध्यपूर्वी देशहरू बहराइन, ओमान, यूएई र कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रूपमा झन्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने (अर्थात् कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ योगदान) खाडी देशमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा उहाँको जोड छ ।
ओमानमा रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गर्नुभयो । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियान’ मा जोडिन पनि उहाँले आह्वान गर्नुभएको छ ।
‘उज्यालो नेपाल अभियान’ केवल बत्तीको मात्र नभएर सुशासन, चुस्त/दुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको उल्लेख गर्नुभयो । देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको थियो ।
