वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आ.व. २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले मुलुकको आर्थिक अवस्था, निजी क्षेत्रको मनस्थिति तथा विश्व परिवेशको वस्तुनिष्ठ अध्ययनका आधारमा सन्तुलित, उदार र समयसापेक्ष नीति प्रस्तुत गरेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ।
सिबिफिनले लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रहँदा बैंकिङ तथा आर्थिक क्रियाकलापहरू गतिहीन बनिरहेको सन्दर्भमा यसपटकको मौद्रिक नीति निकै चासोपूर्वक प्रतीक्षा गरिएको जनाएको छ। सिबिफिनको मूल्याङ्कनमा, नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढावा दिने शैलीमा ल्याइएको मौद्रिक नीतिले बैंकिङ क्षेत्रको खस्कँदो मनोबल र आत्मविश्वासलाई उकास्ने काम गरेको छ। यसले आर्थिक तथा वित्तीय गतिविधिलाई जीवन्त बनाएर दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको परिसंघको ठम्याइ छ।
हाल बैंक तथा वित्तीय संस्थाहरू पूँजीकोषमा दबाब खेपिरहेका अवस्थामा कर्जा लगानी क्षमता बढाउने, व्यवस्थापन सहज बनाउने तथा पूँजीकोष सुदृढ गर्दै वित्तीय स्थायित्व कायम गर्ने लक्ष्यले मौद्रिक नीति सन्तुलित रहेको सिबिफिनको धारणा छ। यसैबीच, बैंकदर तथा नीतिगत दरमा गरिएको कटौतीले कर्जा प्रवाहमा सहजता ल्याउने र यसले मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजै पूरा हुने सकारात्मक संकेत देखाएको सिबिफिनले जनाएको छ।
निष्क्रिय तथा खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको चुनौतीपूर्ण अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाको तयारी गर्न ऐन र नियमको मस्यौदा तत्काल तर्जुमा गर्ने प्रतिबद्धता, आवासीय घरकर्जा र शेयर धितो मार्जिन कर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जाको मार्गदर्शनलाई आय–व्यय चक्रको आधारमा परिमार्जन गर्ने नीति, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको अध्ययन गरी आवश्यक पुनरावलोकन गर्ने तयारी, कृषि, लघु, घरेलु, साना तथा मझौला उद्योगमा कर्जा सहजीकरणमा सुधार ल्याउनेजस्ता नीति तथा सुधारमुखी कार्ययोजना उल्लेखनीय रहेको सिबिफिनले औंल्याएको छ।
यसका साथै, सम्पत्ति शुद्धीकरण निवारण रणनीति र कार्ययोजनाको पूर्ण कार्यान्वयन तथा “ऋणीसँग नेपाल राष्ट्र बैंक” जस्तो चेतनामूलक र सेवाग्राहीमैत्री कार्यक्रमको व्यवहारिक कार्यान्वयनले पनि दिगो बैंकिङ विकास र विश्वास सृजनामा योगदान दिने विश्वास सिबिफिनले व्यक्त गरेको छ।
सिबिफिनले लगानी प्रवर्द्धन तथा विस्तार, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमुखी क्षेत्रको विकास, युवाशक्ति परिचालन, उत्पादकत्व अभिवृद्धि, नवप्रवर्तन र नवउद्यमशीलता प्रवर्द्धन, नेपाली वस्तु तथा सेवाको उपभोग र निर्यात प्रवर्द्धन, हरित लगानी प्रवर्द्धन लगायतका विषयमा केन्द्रित रहेर आर्थिक नीति निर्माण हुनु पर्ने धारणा राख्दै आएको छ।
परिसंघले वर्तमान मौद्रिक नीतिमा आफ्ना कतिपय सुझाव समेटिन नसकेको स्वीकार गर्दै, ती सुझावहरू आगामी निर्देशन र समीक्षामार्फत क्रमशः सम्बोधन हुने विश्वास व्यक्त गरेको छ। सिबिफिनले राष्ट्र बैंकद्वारा अंगीकृत नीतिहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएको छ ।