बाढी पहिरोका कारण भएको क्षतिप्रति महासंघद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
साथै, यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।
बाढी पहिरोले चीनसंगको मुख्य व्यापारिक नाकामा सुख्खा वन्दरगाहमा क्षति हुनुका साथै त्यहाँ राखिएका इलेक्टिक र मालवाहक सवारी साधनलाई बगाएको छ । यस विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलाई भेटेर क्षतिको विवरण जानकारी गराउँदै तत्काल सहयोगका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
महासंघले गृह मन्त्रालय र ल्हासास्थित महावाणिज्य दुतावासलाई आवश्यक सहयोगका लागि आग्रह गरेको छ । साथै चीन तर्फ फसेका नेपालीहरुको उद्धारका लागि कुनीतिक पहल गर्न र नेपाल तर्फको उद्धारका लागि सरकारसंग महासंघले अनुरोध गरेको छ ।
साथै, वर्षाको समयमा बाढी पहिरोको जोखिम उच्च हुने हुँदा सुरक्षित रही व्यापार व्यवसाय गर्न महासंघले सम्पूर्ण उद्यागी व्यवसायीहरुमा अनुरोध गरेको छ ।