उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिको आगामी रणनीतिक कार्ययोजना सार्वजनिक

विराटनगर । उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिले २ बर्से रणनीतिक कार्ययोजनाको प्रस्तुति गर्दै उद्योग–व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनमा थप प्रतिबद्ध भएर कार्य गर्ने जनाएको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले आगामी कार्ययोजना प्रस्तुत गर्दै औद्योगिक इकोसिस्टमको विकासबाट नै उद्योग व्यवसाय सशक्त हुने, व्यावसायिक सहकार्य बलियो वनि दिगो आर्थिक विकासको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरे । उनले लगानीको वातावरण निर्माण गर्न र सहज बनाउन नीतिनिर्माणमा पहल, व्यवसाय प्रवर्धनका लागि आवश्यक सेवा प्रदानका साथै उद्यमशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा मुख्य प्राथमिकता दिने वताए ।
संगठनले विश्वासको वातावरण निर्माण, अनुमानयोग्य नीतिगत व्यवस्थापन, प्रक्रियागत सरलीकरण तथा ऊर्जाको सहज र भरपर्दो उपलब्धताका साथै लागत कम गर्न पूर्वाधार विकास, वित्तीय सहजता र निर्यात प्रवर्धनका मुद्दामा आगामी वहस पैरवी केन्द्रित गर्ने वताए । आयात प्रतिस्थापन, खुला बजार नियमन र असल औद्योगिक श्रम सम्बन्ध, निरन्तर भइरहने विद्युत् आपूर्तिको समस्याको दीर्घकालीन समाधानका लागि संगठनको माध्यमबाट विशेष पहल गर्ने योजना रहेको स्पष्ट पारे ।
युवा पलायनको विकराल अवस्था र यसले आर्थिक एवम् सामाजिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गरी यस मुद्दालाई सम्बोधन गर्न संगठनले युवा विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी सिआइएम एन्टरप्रेनरसिप एकेडेमी मार्फत स्कुल टु वर्क ट्रान्जिशन र स्टार्टअप तथा इन्क्युबेसनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राठीले जानकारी दिए ।
त्यसैगरी औद्योगिक इकोसिस्टमलाई सुदृढ बनाउँदै औद्योगिकीकरणको प्रवद्र्धन गर्ने, उद्यमशीलताको विकास गर्ने र नीति वकालतलाई सशक्त पारी संगठनलाई व्यापारिक सुधारका लागि शक्तिशाली पैरवी गर्ने निजी क्षेत्रको भरपर्दो संस्थाका रुपमा अघि वढाउने योजना रहेको अध्यक्ष राठीले सार्वजनिक गरे ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले संगठनका नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।