स्वदेशमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न पूर्वमन्त्री चौधरीको जोड

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगबती चौधरीले स्वदेशमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले त्यस्तो आग्रह गरेकी हुन् ।
समितिमा सोमबार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । सो अवसरमा बोल्दै पूर्वमन्त्री चौधरीले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताइन् ।
अवैधानिक रूपमा व्यापार व्यवसाय गर्नेहरूमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको उनको भनाई थियो । उनले डायमन्डमा लगाइएको विलासिता कर हटाउनुपर्ने बताइन् । ‘यदि व्यवसायी लगानीकर्ता सबैलाई फस्टाउनु छ भने यसै टाइट गर्ने हो भने झनै समस्या आउँछ ।
अहिलेको अवस्था त यति नैराश्यता छ । हाम्रो मार्केट, अर्थतन्त्र यति तल झरिसकेको छ’, उनले भनिन्, ‘यो तरिकाले झनै तल खस्किन्छ । डायमन्डमा लग्जरी कर जुन छ त्यसलाई हटाउनुपर्छ । आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर बढाइदिए मारमा उनीहरू नै पर्दछन् । हामी उद्योगधन्दा फस्टाउन चाहन्छौँ, यहीँ व्यवसाय गर्न दिने हो भने टाइट नगरौँ ।’
आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर वृद्धि गरे उपभोक्ता मारमा पर्ने उनको भनाई थियो ।