वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विस्तृत स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई सुदृढ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य परीक्षण प्रणाली लागु गरेको छ।
अबदेखि विदेश जान चाहने श्रमिकहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अनिवार्य स्वास्थ्य परीक्षण पास गर्नुपर्ने छ ।
यो नयाँ प्रणाली श्रम मन्त्रालयको पहलमा लागु गरिएको हो, जसले श्रमिकको स्वास्थ्य सुरक्षासँगै अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालको विश्वसनीयता बढाउने लक्ष्य राखेको छ ।
नयाँ प्रणाली स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्ण पौडेलको नेतृत्वमा गठित विज्ञ समितिको सिफारिसमा आधारित छ । उक्त समितिमा राष्ट्रियस्तरका विशिष्ट विशेषज्ञहरूको सक्रिय भूमिका रहेको थियो ।
जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्ट, नेपाल डाक्टर्स एसोसिएसनका महासचिव डा. सञ्जीव तिवारी, परामर्शदाता रेडियोलोजिस्टका प्रमुख डा. सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. विश्व दवाडी, वीर अस्पतालका डा. दिलीप शर्माका साथै अन्य क्षेत्रीय तथा विषयगत विज्ञहरूको टोली छ ।
यी विज्ञहरूको सुझाव र सिफारिसमा परीक्षण प्रणालीलाई परिमार्जन गर्दै श्रम मन्त्रालयले देशभरिका प्रमाणित स्वास्थ्य संस्थामार्फत यस प्रणालीको कार्यान्वयन सुरु गरिसकेको मन्त्रालयले जनाएको छ ।
के–के छन् परीक्षण ?
प्रत्येक श्रमिकको बिस्तृत स्वास्थ्य परीक्षण, शारीरिक परीक्षण र आत्मघोषणा अनिवार्य गरिएको छ ।
परीक्षणमा समावेश हुने प्रमुख क्षेत्रहरू:
• मधुमेह, उच्च रक्तचाप, क्षयरोग, मुटु र मिर्गौला रोग, क्यान्सर, मानसिक स्वास्थ्य
• शल्यक्रिया, औषधि सेवन इतिहास, पारिवारिक तथा सामाजिक पृष्ठभूमि
अनिवार्य प्रयोगशाला परीक्षणहरू:
• रक्त परीक्षण : सीबीसी, ईएसआर, प्लेटलेट
• टीबी स्क्रिनिङ : छाती एक्स–रे, म्यान्टोक्स टेस्ट
• कलेजो/मिर्गौला परीक्षण: एलएफटी, केएफटी
• एचआईभी आई/आईआई, हेपाटाइटिस बी र सी, भीडीआरएल/टीपीएचए
• ईसीजी, अल्ट्रासाउन्ड (पेट/पेल्भिस), ब्लड सुगर, एचबीए१सी
• पिसाब परीक्षण, रगतको समूह, फाइलेरिया, मलेरिया आदि
विशेष गन्तव्यअनुसार थप परीक्षण :
• मलेसिया, जीसीसी र युरोपियन देशहरूका लागि मादक पदार्थ परीक्षण (गाँजा, ओपियट्स, कोकेन, मेथाम्फेटामिन) अनिवार्य
• अक्युपेसनल रोग परीक्षण (जस्तै : अक्युपेसनल आस्थमा, Dermatitis, Carpal Tunnel)
• जोखिम उमेर समूहमा मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दीर्घ रोगहरूको जाँच
केन्द्रको पूर्वाधार र योग्यताको मापदण्ड
स्वीकृत स्वास्थ्य केन्द्रहरूमा निम्न पूर्वाधार र जनशक्ति अनिवार्य गरिएको छ :
• डिजिटल एक्स–रे, कलर डप्लर अल्ट्रासाउन्ड
• स्वचालित बायोक्यामिस्ट्री, हेमाटोलोजी, सीएलआईए प्रणाली
• विशेषज्ञ टोली: रेडियोलोजिस्ट, एमडीजीपी, ल्याब टेक्निसियन
• यूपीएस/जनरेटर, छुट्टै ब्लड कलेक्शन रुम, रिपोर्टिङ रुम, प्रतीक्षालय