नेपाल चाइल्डहुड क्यान्सर एलायन्सद्धारा बाल क्यान्सरबाट पीडितहरूका लागि छात्रवृत्ति कार्यक्रमको सुरुवात
काठमाडौं । सन् २०२५ जुन १ मा, नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए) ले ईन्टरनेशनल क्यान्सर सर्भाइभर डे को अवसरमा बाल क्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीहरूलाई कुल ६ लाख नेपाली रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।
यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा सुरु गरिएको हो ।
यो कार्यक्रमले क्यान्सरबाट बाँच्न सफल बालबालिका, उनीहरूको परिवार, डाक्टरहरू, नर्सहरू र प्रमुख सरोकारवाला पक्षहरूलाई छात्रवृत्ति वितरणमा सहभागि हुने अवसर प्रदान गरेको थियोे । कार्यक्रममा क्यान्सर बाट बाँच्न सफल बालबालिकाहरुले आफ्नो साहस र आशाले भरिएका प्रेरणादायी कथाहरू सुनाएका थिए ।
कार्यक्रमका प्रमुख वक्ता डा. बिश्वनाथ अधिकारी, कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञले उपचारपछिको निरन्तर निगरानीको महत्वमा जोड दिँदै ‘नियमित फलोअप क्यान्सरमुक्त भविष्यका लागि अनिवार्य रहेको बताए । त्यस्तै, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सरका अध्यक्ष बिशप जोशीले शिक्षा बाल क्यान्सरबाट बाच्न सफल बालबालिकाहरूका लागि जीवन परिवर्तनकारी हुने र शिक्षाले उनीहरूलाई सशक्त बनाउनुका साथै समाजलाई क्यान्सरसँग जोडिएको कलंक हटाउन सहयोग पु¥याउने बताए ।
कान्ति बाल अस्पतालको बाल क्यान्सर वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुलीले भावनात्मक साहसको कुरा गर्दै बालबालिकाको उपचारमा आमाबाबुको साहसिक भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताए । रमेश गुप्ता स्मृति प्रतिष्ठानका कार्यक्रम प्रमुख भावनाथ झाले दिर्घकालीन स्रोत र लगानीको आवश्यकता औंल्याउँदै भने, ‘हामी सबैको साझा लक्ष्य भनेको उपचार र जीवन पुनःनिर्माणमा रहेका परिवारहरूलाई समग्र रूपमा साथ दिनु रहेको हो ।’
छात्रवृत्ति प्राप्त सदिक्षा तामाङकी आमा हरिमाया तामाङले, भावुक हुँदै भनिन्,
‘छोरीलाई क्यान्सर भएको खबरले म विचलित भएँ, आर्थिक बोझ कसरी थेग्ने भन्ने थाहा थिएन ल्ऋऋब् को साथले हाम्रो जीवनमा धेरेै परिवर्तन आयो अब छात्रवृत्तिले अझै राहत दिएको छ त्यसैले म अत्यन्तै आभारी छु ।’
वल्र्ड चाइल्ड क्यान्सर नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीले क्यान्सरबाट बाँचेकाहरूको साहसको प्रशंसा गर्दै भने, ‘१४ बालबालिकालाई शैक्षिक छात्रवृत्तिद्वारा समर्थन गर्न पाउनु हाम्रो लागि गौरवको कुरा रहेको र उपचारपछि पनि उनीहरूलाई स्वस्थ र खुसी जीवनतर्फ अघि बढाउन हामी प्रतिबद्ध रहेको छ ।’
‘सर्भाइभर डे केवल उत्सव मात्र होइन, कुनै पनि बालबालिकाले क्यान्सरसँग एक्लै लड्न नपरोस् भन्ने सन्देश पनि हो ।’-रोजिना मानन्धर, प्रवक्ता, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन
सरकारी निकाय, स्वास्थ्य संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन बीचको बलियो सहकार्यमार्फत नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले नेपालको बाल क्यान्सर परिदृश्य परिवर्तन गर्न प्रतिबद्धता जनाएको छ । एलायन्सले सबै सरोकारवालालाई आह्वान गर्दै क्यान्सरविरुद्धको यात्रामा कुनै पनि बालबालिका पछाडि नपरोस् भन्ने उद्देश्यमा एकजुट हुन आग्रह गरेको छ ।
यो छात्रवृत्ति कार्यक्रम सन् २०२५ फेब्रुअरी १६ मा भएको एनसीसीएको औपचारिक उद्घघाटनपछिको प्रमुख पहल हो, जसले क्यान्सरबाट बाँचेका बालबलिकाहरूको दिर्घकालीन पुनःएकीकरण र पुनःस्थापनालाई समर्थन गर्नेछ ।


