जेठ १० र ११ गते बिराटनगरमा सीप उत्सव २०८२ आयोजना हुँदै

काठमाडौं । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संशाधन र हाल बजारमा उपलब्ध जनशक्तिमा बीचको मिसम्याच, रोजगारदाता र रोजगारीको खोजीमा रहेको मानव संशाधनलाई समन्वय गर्न सीप उत्सव २०८२ आयोजना हुने भएको छ ।
सीप विकाससंग सम्वन्धित विविध आयामहरुको वारेमा उजागर गर्ने अभिप्रायका साथ सीप उत्सव २०८२ आयोजना गर्न लागिएको उद्योग संगठन मोरङले जनाएको छ । सीप उत्सवको माध्यमबाट तालिम प्रदायक, उद्योग प्रतिष्ठानहरु, सरकारका सरोकारवाला पक्षहरु र प्रशिक्षार्थीहरु बीचको समन्वयलाई थप प्रगाढ बनाई आगामी दिनमा आवश्यकता अनुरुपको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका साथै स्वदेशमा रोजगारीका अवसर भएको सन्देश प्रवाह गर्न उत्सव आयोजना गर्न लागिएको हो ।
इन्स्योर हेल्भेटासको प्राविधिक सहयोगमा कोशी प्रदेशमा पहिलो पटक सीप उत्सव २०८२ आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । उत्सवलाई दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) दोश्रो नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौतामा सञ्चालित परियोजना अन्तर्गत उद्योग संगठन मोरङले आयोजना गरेको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेश, कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एशोसिएसन अफ नेपाल, नेपाल अटोमोवाईल डिलर्स एशोसिएसन अफ नेपालको सहयोगमा जेठ १० गते शनिबार र ११ गते आइतबार २ दिन चल्नेछ ।
शनिबार बिहान १० बजेदेखि ५ बजेसम्म चल्ने उत्सवमा अन्तर शिक्षालय सीप प्रतिष्पर्धा, लाईभ तालिम, वृति परामर्श (करियर काउन्सिलीङ) समावेश हुनेछन् भने आइतबार बिहान ८ बजेदेखि विहान ११ः३० बजेसम्म चल्ने कार्यक्रममा अन्तिम सीप प्रतिष्पर्धा र पुरस्कार वितरण हुने आयोजकले जनाएको छ ।
नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृति परामर्श करियर काउन्सेलिंग र अनुभव साटासाट गर्ने अभिप्रायका साथ आयोजना गरिएको बताइएको छ । कार्यक्रम उद्योग संगठन मोरङको सचिवालयमा आयोजना हुनेछ ।
कार्यक्रमको पूर्वसन्ध्यामा गत वैशाख २२ गते देखि ३० गतेसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका ११ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन गरिएका छन् । कार्यक्रममा सहभागि प्राविधिक शिक्षालयहरु मध्ये सूचना प्रविधि, अटोमोवाइल र होटल व्यवस्थापन अध्यापन हुने ७ वटा शिक्षालयमा सम्वन्धित शिक्षालयका प्रशिक्षार्थीहरु वीच आन्तरिक प्रतिस्पर्धा गराइएको छ । सो प्रतिष्पर्धामा पहिलो र दोश्रो हुनेलाई प्रदेशस्तरीय सीप उत्सव २०८२ मा प्रतिष्पर्धाका लागि सूचना प्रविधिमा १० जना, अटोमोवाईलमा ४ जना र होटल व्यवस्थापनमा ४ जना गरी जम्मा १८ जनालाई अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको छ । हरेक शिक्षालयबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेताहरूलाई “कोशी प्रदेश स्कील आइकनकोको उपाधि प्रदान गरिने आयोजकको भनाई छ ।
रोजगार प्रदायक, तालिम प्रदायक र रोजगारको खोजीमा रहेका जनशक्तिलाई एकै स्थान भेला पारी सीप विकासको विविध आयामहरुको वारेमा जानकारी गराउने, प्राविधिक शिक्षा, सीप तालिम तथा डुअलभेट अप्रेन्टिसीप कार्यक्रमको महत्व वारे सूचना प्रवाह गरी यसप्रति आकर्षण बढाउने कार्यक्रमको लक्ष्य छ । साथै बााहिरी प्राविधिक जनशक्ति माथिको निर्भरता कम गरी स्वदेश मै दक्ष प्राविधिक जनशक्ति उपलब्ध रहेको सन्देश प्रवाह गर्ने, प्रदेश तथा स्थानीय स्तरमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीचको मिसम्याचलाई सन्तुलन गर्न प्रयास गर्ने, निजी क्षेत्रको अग्रसरतामा सीप, दक्षता र अनुभव साटासाटको वातावरण तयार पार्ने, प्रशिक्षार्थीहरूको सीप प्रस्तुत गर्ने र विद्यालय–उद्योग सहकार्यलाई थप प्रगाढ बनाउने तथा अप्रेन्टिसहरूको प्लेसमेन्ट तथा रोजगारीका अवसरहरू पहिचान र प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य छ ।
सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा लाईभ तालिम हुने कार्यक्रममा एक हजार भन्दा बढी विद्यार्थी तथा युवाहरूलाई करियर काउन्सेलिङ सत्र, वृति परामर्श गराइने उत्सव कार्यक्रम भविष्य निर्माणका लागि मार्गदर्शन बन्ने आयोजकको विश्वास छ ।