पूर्वाधार विकासमा निजी क्षेत्रको सहकार्य जरुरी : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको पनि सहकार्य जरुरी रहेको बताएका हुन्।
सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा गरेको क्रंक्रिट सडक ढलान सम्बन्धी कार्यक्रममा निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरिरहेको बताए।
विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको उल्लेख गर्दै यस्ता सम्भाव्य क्षेत्रको पहिचान आवश्यक रहेको समेत उनले उल्लेख गरे।
नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगति र टिकाउपनाका कारण कंक्रिट सडक निर्माणलाई अध्ययन गरी प्रवर्द्धन गर्न सकिने पनि उनले बताए। नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनाहरूलाई निर्धारित समयमा नै पूरा गर्न र अब सुरु गरिने आयोजनाहरूलाई समेत तोकिएकै समयमा पूरा गराउने वातावरण बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा विज्ञहरूले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रूपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दीर्घकालीन रूपमा किफायती हुने बताएका थिए।

