गभर्नर सिफारिस समिति सदस्यमा पोषराज पाण्डे नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समिति सदस्यमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको हो ।
यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो । सोही स्थानमा पाण्डेलाई नियुक्त गरिएको हो । पौडेलले गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नाम सिफारिस गरेसँगै समितिबाट राजीनामा दिएका थिए ।
तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गतेदेखि सकिएको हो । १ महिनादेखि गभर्नरको पद रिक्त रहेपनि राजीतिक खिचातानिको कारण गभर्नर नियुक्त हुन सकेको छैन । कानुनि प्रावधानअनुसार गर्भनरको पद रिक्त हुनभन्दा १ महिना पहिले नै भावि गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ ।