कर्जाको ब्याजदर २५ महिनादेखि निरन्तर घट्दै, औसत ब्याजदर ८.२२ प्रतिशतमा झर्यो

काठमाडौं । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । कर्जाको ब्याजदर सस्तो भएपनि अर्थतन्त्रको बाह्य पक्ष सबल देखिएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । २०७९ फागुन यतादेखि कर्जाको ब्याजदर निरन्तर घटेको छ ।
रेमिट्यान्स आप्रवाहमा आएको सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न मुलुकबाट नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह १० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढे अनुसार कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या रहेको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत घटेको छ । जसले गर्दा आधार घट्दा कर्जाको ब्याजदर समेत तल झरेको छ । तर, पनि कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदरमा ८ प्रतिशत नजिक झरेको छ । चैत महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.२२ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको चैतमा कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर २.३३ प्रतिशत विन्दुले घटेको हो ।
त्यसैगरी, चैतमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५९ प्रतिशत र वित्त कम्पनीहरुको १०.४० प्रतिशत रहेको छ । २०८० चैतमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको थियो ।
औसत आधार दर घटेकाले बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो । अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ६.२९ प्रतिशतमा झरेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.५१ प्रतिशत थियो । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्।
यस्तै, २०८१ चैतमा विकास बैंकहरुको औसत आधार दर ८.३४ प्रतिशत र वित्त कम्पनीहरुको ९.१७ प्रतिशत रहेको छ । २०८० को चैतमा विकास बैंकहरुको औसत आधार दर १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत रहेको थियो ।
२०८१ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरुको ५.२२ प्रतिशत र वित्त कम्पनीहरुको ६.२४ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत कायम थियो।
कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका थिए । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर पनि घटेको हो । हाल वाणिज्य बैंकहरुले प्रवाह गर्ने सबै प्रकारका कर्जाको ब्याजदर ९ प्रतिशत भन्दा तल नै रहेको छ ।