आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औं बुद्ध जयन्ती। भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए।
छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए। ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए।
बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश दिएका थिए। आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन्।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एशियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन्।
काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिन्छ।
यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ। प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।