मूल्य वृद्धि दर ३.३९ प्रतिशत

काठमाडौं । चैत महिनामा मूल्य वृद्धि दर (मुद्रास्फिति) घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । फागुन महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार १ महिनामा मूल्य वृद्धि दर ०.३६ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्षको चैत महिनाको तुलनामा यो वर्ष मुद्रास्फिति भने १.२२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत छ ।
त्यस्तै, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको छ ।