कार्यक्षेत्र विस्तार र पुँजी वृद्धिको समयसीमा बढाउन धितोपत्र ब्रोकरको माग
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र व्यवसायीको कार्यक्षेत्र विस्तार तथा पुँजी वृद्धिको समयसीमा बढाउन नेपाल धितोपत्र बोर्ड समक्ष माग गरेको छ ।एसोसिएसनले सोमबार सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई भेटेर धितोपत्र व्यवसायी नियमावली संशोधन गर्न माग गरेको हो । साथै नियमावलीमा गर्नुपर्ने संशोधनका बुँदा समेत बुझाएको छ।
नियमावलीको हालको व्यवस्थाले बैंकका सहायक कम्पनीले गर्ने शेयर कारोबारमा दुविधा उत्पन्न गराएको भन्दै त्यसलाई संशोधन गर्न माग गरेका छन् । नियावलीम क बर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ । तर त्यस्ता कम्पनीले आफ्नो मुख्य कम्पनी वा मुख्य कम्पनीका अन्य सहायक कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था रहेको छ । यसलाई संशोधन गरी शेयर स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था गर्न ब्रोकरहरुले माग गरेका छन्।
यस्तै ब्रोकरहरुले चुक्ता पुँजी वृद्धिको अवधि दुई वर्ष थप गर्न माग गरेका छन् । नियमावलीअनुसार ब्रोकर कम्पनीहरुले २०८२ असार मसान्तसम्म चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउनुपर्छ । एसोसिएसनले त्यो अवधिमा पुँजी १० गुणा बढाउन सम्भव नहुने भन्दै २०८४ असार मसान्तसम्म समय थप्न माग गरेको हो।
एसोसिएसनले तोकिएको पुँजी अनुसार ब्रोकर कम्पनीको कार्यक्षेत्र थोरै भएको तथा शेयर खरिद बिक्रीको कमिसनबाट मात्र व्यवसाय सञ्चालन कठिन देखिएको भन्दै कार्यक्षेत्र बढाउने गरी नियमावली संशोधन गर्न सेबोन अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।
ब्रोकरहरुले सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा अन्तर्गत ग्राहक आदेश अनुसार धितोपत्र खरिद बिक्री गर्ने सेवा, केन्द्रिय निक्षेप सेवा अनुमति, राफसाफ सदस्यता अनुमति, प्रोप्राइटरी कारोबार अनुमति तथा मार्जिन कारोबार सम्बन्धी कार्य गर्न अनुमति तथा लगानी व्यवस्थापन लगायतका कामहरु गर्न पाउनुपर्ने उनीहरुको माग छ ।
यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा अन्तर्गतः सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा अन्तरगतका सबै कार्यहरु सहित, लगानी एडभाइजरी सेवा, बोर्डले तोके बमोजिम योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न पाउनुपर्ने जनाएका छन् ।
यसैगरी धितोपत्र दलाल सेवा सञ्चालन दलालले १ आर्थिक वर्ष पुरा भएपश्चात धितोपत्र दलाल कम्पनीको प्राथमिक शेयर निष्कासनको लागि अनुमति प्रदान गर्नुपर्ने माग छ ।
यसैगरी धितोपत्र व्यापारीले आफनो नाममा धितोपत्र खरिद वा बिक्री गर्ने, धितोपत्र दलालको कार्य, म्युचुअल फण्ड म्यानेजर सम्बन्धी कार्य गर्ने, धितोपत्र प्रत्याभूतिकर्ताको कार्य गर्ने, धितोपत्र बजारको अनुमति लिई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने तथा तोकिएको कम्पनीमा दुई तर्फि खरिद बिक्री गर्न आदेश दिन पाउने गरी बजार निर्माताको काम गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र दलालले आफ्नो शेयरधनी र निजहरुको एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन आग्रह गरेको छ । यसले एकाघर कारोबारलाई एकद्वार प्रणाली मार्फत नियमित अनुगमन तथा रिपोर्टिङ्ग गर्नका लागि सहज हुने ब्रोकरहरुको भनाई छ ।
धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुको एकाघर परिवारको सदस्यका नामबाट खरिद वा बिक्री गरिएको धितोपत्रको विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको ७ कार्य दिन भित्र बोर्डलाई जानकारी दिनु पर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।


