अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक चुनौती भने कायमै

का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना
२०८२ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७० औं वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि यस बैंकले समष्टिगत आर्थिक स्थायित्व र वित्तीय क्षेत्रको प्रवर्धनमार्फत देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको छ । यस अवसरमा बैंकका पूर्व गभर्नरज्यूहरू लगायत सबै अग्रजहरूलाई स्मरण गर्दै सम्मान व्यक्त गर्दछु ।
अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा विस्तारले समेत गति लिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको छ । पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ ।
नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ । विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको छ ।
वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको छ । देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखाविस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको छ । यस बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको छ ।अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआवद्धता समेत प्रारम्भ भएको छ ।
आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ । उच्च तरलता एवम् न्यून व्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायम नै रहेका छन् ।
पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका छन् । एकातिर जारी रुस-युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिंदा आपूर्ति व्यवधान हट्ने संभावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको छ। यसका साथै, संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूका लागि नयाँ भन्सारदर घोषणालगायत व्यापार नीतिमा परिवर्तन गरेकाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ। यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ ।
अधिक तरलता र न्यून व्याजदरका साथै बाह्य क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको छ । पछिल्लो उपलब्ध सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिको तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आँकलन गर्न सकिन्छ ।
विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा छ । वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभावसमेत देखिदै गएको छ ।
यसरी मौद्रिक वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समिष्टगत आर्थिक स्थायित्व कायम राख्न नेपाल राष्ट्र बैंक कटिबद्ध छ । तथापि, पछिल्लो समय खासगरी अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवम् आर्थिक सहयोग नीति र भूराजनीतिक तनावजस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम भने कायमै छ ।