महासंघको सहयोगमा नुवाकोटमा झोलुङ्गे पुल, दैनिक हजारौँ स्थानीय लाभान्वित
काठमाडौँ । नुवाकोटको ढुंगेबजारदेखि त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको पुलको शुक्रबार महासंघका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गरेका हुन् ।
पुल उद्घाटनपछि आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले करिब एक महिनामै २ सय ६७ मिटर लामो पुल निर्माण गरेर निर्माण व्यवसायीहरूले उदाहरणीय काम गरेको बताए ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नुवाकोटका निर्माण व्यवसायीहरूले आफ्नै गुमाएको ठूलो पीडालाई शक्तिमा बदल्दै छोटो अवधिमै पुल निर्माण गरेको उनले बताए । पुल सञ्चालनमा आएसँगै दैनिक हजारौँ स्थानीय लाभान्वित हुने उनको भनाइ थियो ।
‘यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ,’ अध्यक्ष पाण्डेले भने । उनले पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुरहरू धन्यवादका पात्र रहेको पनि बताए ।
अध्यक्ष पाण्डेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि देशभरका निर्माण व्यवसायीहरूबाट १० करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरिएको छ । कर्मचारीतन्त्रले बाधा सिर्जना नगर्ने हो भने मुलुकका निर्माण व्यवसायीहरूले अझ उत्कृष्ट काम गर्न सक्ने उनले बताए । राज्य विपद्मा परेको समयमा महासंघले विगतदेखि नै विभिन्न किसिमका सहयोग गर्दै आएको उनको भनाइ थियो ।
बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ स्थानीय लाभान्वित हुने गरी पुल निर्माण भएको भन्दै यसले समाजमा निर्माण व्यवसायीप्रतिको दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीलगायतले महासंघले सामाजिक उत्तरदायित्वअन्तर्गत उत्कृष्ट एवं ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरे ।
निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले महासंघको कामबाट राज्यले समेत पाठ सिक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव शिवहरि घिमिरे, उपमहासचिव सन्तोष साह, कार्यसमिति सदस्य सरेन्द्रराज केसी, विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्कालगायतको उपस्थिति थियो ।




