राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव

काठमाडौं । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आजबाट गौरवपूर्ण ७० वर्षको यात्रा पूरा गर्दै ७१औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ।
नेपालमा केन्द्रीय बैंकको आवश्यकता महसुस गर्दै आर्थिक क्षेत्रको व्यवस्थापन र समन्वय गर्ने उद्देश्यले २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) नेपाल राष्ट्र बैंकको स्थापना गरिएको थियो। प्रारम्भमा नेपाल राष्ट्र बैंक ऐन, १९५५ अन्तर्गत स्थापना गरिएको बैंकले आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
राष्ट्र बैंकले प्रारम्भदेखि नै मौद्रिक नीति निर्माण, विदेशी मुद्रा भण्डार व्यवस्थापन, र विनिमय दर निर्धारण जस्ता कार्यहरूमा सक्रिय भूमिका खेलेको छ। पछिल्लो समय नयाँ नेपाल राष्ट्र बैंक ऐन, २०५८ लागू भएसँगै बैंकको स्वायत्तता र स्वतन्त्रता थप सुनिश्चित गरिएको छ।
अर्थतन्त्रको स्थायित्वका लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने उद्देश्यले राष्ट्र बैंकले मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण र कार्यान्वयन गरिरहेको छ। त्यस्तै, बैंकिङ तथा वित्तीय प्रणालीको स्थायित्व, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास, साथै नियमन, निरीक्षण र सुपरिवेक्षणसमेत राष्ट्र बैंकको मुख्य जिम्मेवारीमा पर्छ।
देशको बैंकिङ प्रणालीलाई सर्वसाधारणमा विश्वासिलो बनाउँदै अघि बढाउन राष्ट्र बैंक निरन्तर क्रियाशील रहँदै आएको छ। बैंकले आवश्यक तरलताको व्यवस्थापन तथा वित्तीय प्रणालीको समग्र संवर्द्धनमा पनि ध्यान केन्द्रित गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर जबरा थिए। बैंकको स्थापना यता हालसम्म १७ जना गभर्नरले नेतृत्व गरिसकेका छन्। पछिल्लो पटक गभर्नर रहेका महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै नयाँ गभर्नर नियुक्ति हुन बाँकी रहेको छ। हाल डा. नीलम ढुंगाना कामु गभर्नरका रूपमा राष्ट्र बैंकको नेतृत्व सम्हालिरहेकी छन्।