भारतीय मन्त्रीसँग मुक्तिनाथ दर्शन: दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध थप प्रगाढ

मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारतबाट प्रधामन्त्री, मन्त्री एवं उच्च पदस्थ व्यक्तित्वहरुको भ्रमणले दुई देशबीचको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्बन्ध थप प्रगाढ हुने बताएका छन् ।
मन्त्री खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरसँगै मुक्तिनाथ मन्दिरकोलागि दर्शनमा सहभागी थिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि मन्त्री खड्काले यस यात्राले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले भने–“धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ मजबुत बनाएको छ। यस्ता अवसरहरूले दुई देशबीचको मित्रता र सहयोगको भावना गाढा बनाउँछ।”
मुक्तिनाथ दर्शनको क्रममा भारतीय विद्युतमन्त्री खट्टरले नेपाल धार्मिक रुपमा ऐतिहासिक र पवित्रभूमि भएको भन्दै मुक्तिनाथ एवं पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्दित महसुश भएको बताए । उनले धार्मिक पर्यटनमा नेपालले जोड दिए नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।
नेपालको एक प्रमुख धार्मिक तीर्थस्थलको रूपमा मुक्तिनाथ मन्दिरले भारत तथा अन्य देशका पर्यटकहरूलाई समेत आकर्षण गर्ने गरेको छ। यस किसिमका उच्चस्तरीय भ्रमणहरूले धार्मिक पर्यटनको प्रवद्र्धन मात्र नभई नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
साथै, मन्त्री खड्काले स्थानीय पर्यटन विकास, पूर्वाधार विस्तार र धार्मिकस्थलहरूको संरक्षणमा नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।