चैतसम्ममा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना अर्थात चैत मसान्तसम्ममा मुलुकले १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १२.१८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको विवरणअनुसार ९ महिनाको अवधिमा नेपालको निर्यात पनि ६५.१६ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
यसआधारमा, नेपालको कुल वैदशिक व्यापार १६.८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा नेपालको व्यापार घाटा पनि ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यता, विभागका अनुसार चैत मसान्तसम्म आयात निर्यात अनुपात ६.९६ प्रतिशत हुँदा कुल व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत र आयातको हिस्सा ८७.४३ प्रतिशत रहेको छ ।