सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेकाे छ : उपप्रधानमन्त्री सिंह

ढोरपाटन (बागलुङ) । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र अरू दललाई समेत मिलाएर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेको सत्तागठबन्धन स्थिर सरकारको जनचाहनाअनुसारनै बनेको दाबी गरे ।
राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताए । सरकारका विषयमा विभिन्न व्यक्तिहरुले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पारे ।
त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताए । नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
’स्थानीय सरकार जनताको नजिकको सरकार हो । तीनै तहका सरकार जनताको समस्या समाधान गरि समृद्ध मुलुक निर्माणका लागि बनेको हो, उनले भने,’सरकारको स्थायित्व नहुँदा जनतामा निराशा थियो । नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दल मिलेर सरकार बनाएपछि आशा जगाउने काम गरेका छौँ ।
सिंहले प्राप्त उपलब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको बताए ।