वीरगञ्ज महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको वीरगञ्जमा ‘वीरगञ्ज महानगरपालिकासँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले नगरवासीको सामूहिक दुर्घटना बीमा गर्न र घर बनाउन नक्सा पास गर्दा बीमा अनिवार्य गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नगर प्रमुख सिंहले महानगरपालिकाको भवनको बीमा गर्नका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख गर्दै बीमा कम्पनीहरूले प्रतिवद्धता जनाएका विषयहरु कार्यान्वयन गर्नुपर्ने बताए ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पालिकास्तरमा नै बीमा सम्बन्धी गुनासाहरू राख्न पाउने र समस्या समाधान गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरपालिको केही प्रतिशत बजेट छुट्याएर विपन्न तथा गरीब बर्गको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिए । साथै विद्यालयका पाठ्यक्रममा ‘बीमा’ विषय समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू, अगुवा कृषक र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।