ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनद्वारा तीन विधामा जनही तीन लाख राशीको पुरस्कार प्रदान
काठमाडौँ । ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनले विभिन्न तीन ओटा विधामा फरक फरक क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्तिहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनले पहिलोपटक उक्त पुरस्कार प्रदान गरेको हो ।
फाउन्डेसनले यस वर्ष पर्यटन पत्रकारितातर्फ कान्तिपुर दैनिकका सुरज कुँवर, लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारबाट एन्टी पोचिङ युनिट, चितवन राष्ट्रिय निकुञ्ज कसरा र दुर्गादेवी मिश्र शिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई प्रदान गरेको हो । पुरस्कृत व्यक्ति तथा संस्थालाई जनही तीन लाख रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान समयमा पर्यटन र वातावरणको संरक्षण विश्वव्यापी मुद्धा बनेको र यसमा नेपालले सकारात्मक योगदान पुर्याएको बताउनुभयो । खासगरी विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाकै पहलमा नेपालले यस्तो सफलता प्राप्त गरेको भन्दै उहाँले त्यसमा समर्पित व्यक्तिको सम्मान हुनु असल कर्म भएको उहाँको भनाई थियो । यस किसिमको सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र वातावरण तथा पर्यटन संवद्र्धनमा लाग्न अरुलाई पनि पे्ररित गर्ने उहाँले बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश एवम् फाउन्डेसनका संरक्षक कल्याण श्रेष्ठले पवित्र उद्देश्यसहित स्थापित फाउन्डेसनले अत्यन्त पारदर्शीतासहित सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मानित गरेको बताउनुभयो । फाउन्डेसनलाई भविष्यमा अध्ययन अनुसन्धानमा पनि लगानी गर्न सुझाव दिदैं उहाँले समाजमा सकारात्मकता पैदा गर्न यस्ता प्रयास हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।
फाउन्डेसनका संस्थापक बसन्त मिश्रले नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेकोले पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताउनुभयो । त्यस्तै उहाँले वातावरण संरक्षणमा नेपालले हासिल गरेको सफलता र शिक्षा क्षेत्रको सुधार विना समाजले प्रगति हासिल गर्न नसक्ने भएकोले यी क्षेत्रमा पनि योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताउनुभयो ।
फाउन्डेसनले भविष्यमा पनि पुरस्कारको रकम र विधा पनि बढाउने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो । समाजमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मानित गर्नुपर्छ भन्ने अवधारणासहित फाउन्डेसनले यस्तो प्रयास सुरु गरेको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । सम्मानित हुने व्यक्ति र संस्थाको छनौटमा अत्यन्त पारदर्शीता अपनाइएको र यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोग लिइएको उहाँले जानकारी दिनुभयो । फाउन्डेसनले प्रदान गरेको पर्यटन पत्रकारिता पुरस्कारका लागि नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले खुला आवेदनका आधारमा निर्णायक समितिले गरेको निर्णय अनुसार तीन जना सेजन सदस्यहरुको नाम सिफारिस गरेको थियो ।
चार दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न बसन्तराज मिश्र नेपालको पर्यटन क्षेत्रको पहिलो पुस्ताका पर्यटन व्यवसायी मानिनुहुन्छ । उहाँले सञ्चालन गरिरहेको टेम्पल टाइगर रिसोर्ट नेपालको पर्यटन जगतमा चर्चित छ ।
Visited 1 times, 1 visit(s) today