१ वर्षमा बैंकहरुमा सर्वसाधारणको ४ खर्ब ८० अर्ब निक्षेप थपियो
काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ४ खर्ब ८० अर्ब रुपैयाँ थपिएको छ । यो सँगै बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४० खर्ब ३९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षमा १३.५ प्रतिशतले व्यक्तिगत निक्षेपमा वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुको सर्वसाधरणको निक्षेप ३५ खर्ब ५९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म सम्पूर्ण निक्षेप ६४ खर्ब ९४ अर्ब ८९ करोड रुपैयाँ पुगेकोे छ । यसमा वैदेशिक मुद्राको निक्षेप, गैह्र बैंक तथा वित्तिय संस्थाको निक्षेप, सरकारी संस्थान, गैर सरकारी संस्थान, अन्तर बैंक निक्षेप, व्यक्तिगत र विविध निक्षेप रहेका छन् । एक वर्षको अवधिमा सम्पूर्ण निक्षेप भने १२.६ प्रतिशतले बृद्धि भएको छ ।
गत आर्थिक वर्षमा वैदेशिक मुद्राको निक्षेप १० अर्ब २७ करोड रुपैयाँ थपिएर ७३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै गैर बैंक तथा वित्तिय संस्थाको निक्षेप २ खर्ब ७२ अर्ब ६४ करोड रुपैयाँ थपिएर ११ खर्ब ९६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
जसमध्येमा बिमा कम्पनीको निक्षेप १ खर्ब १ अर्ब २० करोड रुपैयाँ थपिएर ६ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बिमा कम्पनीहरुको निक्षेप २०.२ प्रतिशतले बढेको हो । यस्तै कर्मचारी संचयकोषको निक्षेप ४० प्रतिशतले बढ्दा नागरिक लगानी कोषको २५ प्रतिशत तथा अन्य निक्षेप ४८.६ प्रतिशतले बढेको छ ।
यस अवधिमा सरकारी संस्थानहरुको निक्षेप भने १.३ प्रतिशतले घट्दा गैर सरकारी संस्थानको निक्षेप ४ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा अन्तरबैंक निक्षेप २९ प्रतिशतले घटेको छ भने अन्य प्रकृतिको निक्षेप ३ प्रतिशतले घटेको छ ।
निक्षेप थपिए अनुपातमा कर्जा विस्तार हुन सकेको छैन । कर्जा नगएपछि यतिबेला प्रणालीमा पैसा थुप्रिएर बसेको छ । अधिक तरलता समस्या समाधान गर्न थप नीतिगत सुधारको पक्षमा लगानीकर्ता देखिएका छन् । उत्पादनमूलक क्षेत्रमा कर्जा वृद्धि भएमात्र अर्थतन्त्रमा चहलपहल ल्याउन सकिन्छ ।