निर्जीवन बिमा कम्पनीहरुको नाफामा ५० प्रतिशत वृद्धि
काठमाडौं । सूचीकृत १२ वटा निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको असारसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार समग्रमा कम्पनीहरुको नाफामा ५०.५६ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ४ अर्ब ३६ करोड २४ लाख रुपैयाँ रहेको बिमा कम्पनीहरुको खुद नाफा अहिले बढेर ६ अर्ब ५६ करोड ८३ लाख पुगेको छ ।
यता, कम्पनीहरुको समग्रमा रिटेन्ड अर्निङ ७ अर्ब ८६ करोड भन्दा धेरै रहेको छ । जसमध्ये सबैभन्दा धेरै उक्त अर्निङ राष्ट्रिय बिमा कम्पनीको देखिएको छ । २४ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बिमा कम्पनीहरुको बिमा शुल्क संकलन १४ अर्ब ३३ करोड पुगेको छ । यिनीहरुको बिमा कोषमा ४१ अर्ब ३७ करोड रुपैयाँ रहेको देखिएको छ ।
नाफा बढेसँगै कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि बढेको छ । २ वटा बाहेक सबै कम्पनीको इपीएस बढेको रिपोर्टमा देखिएको छ । जसमध्ये ८ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । सबै कम्पनीको उक्त आम्दानी १५ रुपैयाँ भन्दा धेरै छ । यी कम्पनीहरुको लगाानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । प्रयाः सबै कम्पनीहरुको उक्त आम्दानी बढेको छ
चुक्ता पुँजी आइजीआई प्रुडेन्सियलको धेरै, रिटेन्ड अर्निङ राष्ट्रिय बिमाको बढी
सबैभन्दा धेरै चुक्ता पुँजी आइजीआई प्रुडेन्सियलको ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ बराबर रहेको छ । दोस्रोमा, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड ६५ लाख र शिखर इन्सुरेन्सको २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी देखिएको छ । समग्रमा १२ वटा इन्सुरेन्सको चुक्ता पुँजी २४ अर्ब ६१ करोड ७८ लाख ८८ हजार रुपैयाँ बराबर रहेको छ । सबैभन्दा कम राष्ट्रिय बिमा कम्पनीको २६ करोड ६६ लाख ३९ हजारको चुक्ता पुँजी रहेको छ ।
यता, सबैभन्दा धेरै रिटेन्ड अर्निङ भने राष्ट्रिय बिमाको नै देखिएको छ । उक्त अर्निङ ३ अर्ब ६१ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, सिद्धार्थ प्रिमियरको १ अर्ब ११ करोड रुपैयाँ बराबरको रिटेन्ड अर्निङ छ । सबैभन्दा कम एनएलजी इन्सुरेन्सको १२ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । समग्रमा बिमा कम्पनीहरुको रिटेन्ड अर्निङ ७ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ रहेको छ ।