आज यी प्रदेशहरुमा अति भारी वर्षाको सम्भावना
काठमाडौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताएको छ।
त्यसैगरी, सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको छ। जसको प्रभावले देशभर साधारणतया देखि पूर्णतया बदली रहेको महाशाखाले बताएको छ। विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज राती पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


